बिर्खे अन्जानका केही मुक्तकहरूः

Spread the love
Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

पुजारीको बस्त्रधारी दैत्य पस्न थालेपछि
मन्दिरमा देउता हैन ढुङ्गा बस्न थालेपछि
नैतिकताको लिलाम बिक्री अनि शुरूवात भो
आफन्तले झुक्याएर छुरा धस्न थालेपछि ।

यता आँखा नझिम्क्याउ मुटु ढुक्कढुक चल्न थाल्छ
हेरी मलाई बोलेपछि सिङ्गो शरीर गल्न थाल्छ
प्रेम कुवा लुकाएनी सेतो हिमाल देखिपछि
सीमा नाघ्छ धैर्यताले भित्रै आगो बल्न थाल्छ ।

 

जिन्दगीमा पैह्रो सधैं बाढी पनि पस्छ कैले
खुशी फुल्न लाग्यो भने असिना नि खस्छ कैले।
मेरो निम्ति देउता भन्दा शत्रु निको लाग्छ अचेल
भाग्य लेख्ने बिधाताले बज्र हानी डस्छ कैले ।

लडाउँने, उठाउँने अनि फेरी ढलाउँने
मौकापरे मुर्दापनि बाँच्छभन्दै चलाउँने
कस्तो खेल हो राजनीति यो बुझ्न सकिएन
पानी माथि सलाई कोरी आगो लगाउँने ।।

मरेपछि लाने हैन, सँगै कोही जाने होइन
मृगतृष्णा पाली बस्ने जिन्दगीको माने होइन ।
कैलेकाहीं इतिहास पल्टाएर हेर्नु पर्छ
अर्थहीन तर्क लाग्छ कोही कम खाने होइन ।।

हुन्छ जरूर ढिलो चाँडो इमानमा बसे पछि
पीडा पनि निको हुन्छ आँसु बनी खसे पछि ।
बिश्वास हो सँसारकै सबै भन्दा ठुलो कुरा
ढुङ्गा पनि देउता बन्छ अविरले घसेपछि ।।

नियम नीति अर्कोतिर हुन्छ सधैं झेल अचेल
पाइलै पिच्छे तानातान षड्यन्त्रको खेल अचेल ।
पवित्र छ भन्ने चिज खोज्दा कहीं भेटिदैन
न्यायाधीश र चोरको पनि बिचित्रको मेल अचेल ।।

आफ्नै पिरमा लडिबुढी समस्याको चाङ भित्र
दबाएर राख्नु पर्ने घाउ पनि आङ भित्र ।
छैन बिश्वास भरोसाको धरोहर ढले देखि
शङ्का लाग्छ आफ्नै भन्ने दुनियाँको माग भित्र ।।

अध्यक्षः पालुङ साहित्य परिषद,
पालुङ, मकावनपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *