गोम बिक्रमकाकेही मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

पहिले भने नजिक हुन, अति सारो गर्थ्यौ हुरूक्कै
ससाना कुरा बढाएर, असाध्यै पार्थ्यौ फुरूक्कै
कुनले कुरा लगाइदियो, मनको सद्भाव भगाइदियो
दु:ख दिंदै सताइकन, पार्न थाल्यौ झन धुरूक्कै ।

नजिक हुने बाहनामा, साइनो जोर्न आइहाल्यौ
तिर्नै नसकूँला जस्ता, गुनको पैँचो लाइहाल्यौ
मन फेरिँदै गएपछि, आफू बलियो भएपछि
त्यति मिठो सम्बन्ध पनि, निहुँ खोजेर भत्काइहाल्यौ ।

 

कहिले पनि सम्झिएनौ, एकातर्फी सम्झाइ भयो
न त सम्चार फिर्ता आयो, न त आइ न जाइ भयो
मुटु तिम्रो पत्थरसरी, मेरो यता सागरसरी
सपना व्यर्थै सँगालेर, सधै मुटु दुखाइ भयो ।

धेरै आरोप सुनें तिम्रा, भर नभा’की भन्दारैछौ
अझ नराम्रो पारिकन, थर नभा’की भन्दारैछौ
विवशता के हो सुन्नुपर्थ्यो, बाध्यताहरू गुन्नुपर्थ्यो
चित्त यति दुखेन अझ, घर नभा’की भन्दारैछौ ।

जीवन भन्नू सुख होइन, दु:खको मात्र नाउ भयो
वेदनाले मुटुमा पनि, निकै नहुने घाउ भयो
बिन्ति कहाँ बिसाउनू ?, कोसित कति रिसाउनू ?
जिन्दगीका खुशी हराइ, आँसुको मात्र तलाउ भयो ।

– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *