कालो रङ

Spread the love
Devaki , KC, देवकि केसी, pallawa, पल्लव

देवकि केसी

मलार्इ, मेरो प्रिय कालो रङ्सङ
दशै मनाउने रहर छ !
सेता मनहरूले
अशुभको प्रतीक मान्दै
लात्ताले हुत्याएको
मेरो कालो रङ्को
महिमा अपार छ
कालो रूपभित्र
सङ्लो मन बोकेको
मेरो प्रिय कालो रङ
सधैँ परिवर्तनको
विगुल फुक्दै हिड्छ
सुन्दर शरिरभित्र ।

 

ज्वाला बोकेर हिड्ने
मान्छेका रङ्भन्दा उच्च
मेरो कालो रङ्को
अलग्गै पहिचान छ,
देउताका नाउँमा
आफ्ना स्वार्थ पूरा गर्न
बली बनेका निर्दोष पशुहरूको
रगतको रङ्सङ
मिसिन चाहदैन
मेरो प्रिय कालो रङ ।

विजयको खुशियालीमा
टाँसिएका निधारका राता टिका
जीवन साथीको बियोगमा
फेरिएको मेरी आमाको
फरियाको रङ
भोक र रोगले पहेलिएका
भिकारिको अनुहारजस्तो
जमराको रङ्सङ
मेरो प्रिय कालो रङ
पटक्कै मिल्दैन
अलग पहिचान
अलग बिचार
समाज रुपान्तरणको
उँचो आवाज बोकेर
अविरल पाइला चालेको
प्रिय कालो रङ्सित
रहर छ मेरो
दशै मनाउने !
दशै मनाउने !!!

सन्दर्भः- मन्दिर जाँदा बली चढाइएका पशुपन्छीहरू देखेपछि तिनै निर्दोष पशुपन्छीहरूको आत्माको शान्तिको कामनासहित समर्पित गर्दै लेखिएको हो ।
रचनाकारः- देबकी केसी
मिति_2074/06/13गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *