“म रहेन भने तिमी के गर्छौ ?”

Spread the love
Ritesh, Grg, रितेस गुरुङ, pallawa, पल्लव

रितेस गुरुङ

उनले मेरो मन चोरेकी थिइन्
या, नि’चोरेकी थिइन्
थाहा भएन !

तर
उनको त्यो प्रश्न म भित्र गाढा भएर बसेको छ
बिझिरहने काँडा भएर बसेको छ !

उनले एकपटक सोधेको प्रश्न
मैले आफुलाई बारम्बार सोधिरहे !

साच्चै
उ भएन भने म के गर्छु होला ?
उ रहेन भने म के बन्छु होला ?

 

सायद
म एक्लै ओछ्यानमा सुत्थे होला
मेरो निन्द्रा म’संग सुत्न मान्दैन’थ्यो होला
अनि रातभर सपनाहरू भड्किन्थे होला, शरीर मरेका आत्माहरु जस्तै !

बाटोहरु एक्लै हिड्थे होला
पैतालाहरु हिड्न मान्दैन’थ्यो होला
अनि गन्तव्य शुन्य हुन्थ्यो होला, मसानधाटमा सुतेका लासहरु जस्तै !

यादहरु आइरहन्थे होला
साथहरु चाहिँ आउदैन’थ्यो होला
अनि म अनाथ हुन्थे होला, रुखबाट खसेको सुकेको पात जस्तै !

ओठमा मुस्कान जम्थे होला
आँखाबाट आँसु पग्लन्थे होला
अनि म निर्जीव बन्थे होला, तिमिले पुज्ने
देवताको मुर्ती जस्तै !

या
म केही गर्दिन’थे होला
या म केही बन्दिन’थे होला

उनी न’रहे
सपनालाई तकिया बनाएर
उनको सम्झनाको च्यादर ओडेर पो सुत्थे कि ?

कल्पनामा उनको पैताला’संग जोडि बाधेर
आफ्नो पैताला पनि गन्तव्य’सम्म हिडाउथे कि ?

सधैं साथ रहने हावालाई
उनको स्पर्श सम्झेर म पनि उ संगै उड्थे कि ?

प्रत्येक दिन उनको यादमा
झन्झन् सजिव भएर पो बाच्थे कि ?

अपरिचित नम्बरले
मेरो परिचीत मोबाइललाई सम्झियो,
अनि मोबाइलले मलाई !

फोन उठाए !

“उनलाई अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ, छिट्टै आउ !”
कसैले जानकारी गरायो !

उनले मेरो कानमा टाँसिदिएको
त्यो प्रश्न हृदय भित्र फेरि गुन्जिन थाल्यो,
“म रहेन भने तिमि के गर्छौं ?”

रितेस गुरुङ, Ritesh Grg

Leave a Reply

Your email address will not be published. Required fields are marked *