प्रार्थना विजयादशमीलाई

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

विजयादशमी ! शमीलता
सरि फैलीकन आइद्यौ यता
म बनूँ अनि छाहरीतल
भवको ताप गएर शीतल

विमले ! मुखको प्रकाशले
रवि हारेर पयोदमा चले
मनको निविडान्धकारमा
छर आलोक गई दुवारमा

 

सबतर्फ हुँदा निरीहता
सुख होला र कहाँ ममा यता ?
छरिद्यौ सबतर्फ मंगल
किन होला अनि दुःख दंगल

खलका खलकै धपाउन
छलकारी चलनै चपाउन
जब शक्ति अगाडि सर्दछ
अनि के सज्जन मर्नुपर्दछ ?

स्वयमेव खली छ लुट्नमा
दृढ निर्दोष स्वजाति भुट्नमा
उसकै पछिबाट आड छ
पिरको बन्धनभित्र चाड छ !

रमणीय दशैं ! भनौं जय
जमरा हुर्किरहुन् असंशय
घटमा पुजिएर आइद्यौ
शठलाई हठ त्याग्न लाइद्यौ

जसको मति नै निकृष्ट छ
परपीडा उसको अभीष्ट छ
जनदूषकको विरुद्धमा
डट दुर्गे ! घनघोर युद्धमा

किन हो अजिते ! गर्‍यौ ढिलो
जनको जीवन भो थिलो थिलो
जनघातक युद्धदुर्मद
गरिद्यौ चण्ड र मुण्डको बध

छिन शुम्भनिशुम्भका जरा
यिनले जर्जर छिन् वसुन्धरा
सबले नवगीत गाउँला
अनि टीका जमरा लगाउँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.