यो दुनियाँ के बोल्छ कस्को बिरुद्धमा?
लाटोले मुख खोल्छ कस्को बिरुद्धमा?
सरकार आउँछ र आगो तापेर जान्छ,
जन्ता टायर पोल्छ कस्को बिरुद्धमा?
तेरो मेरो भन्दैनन् जङ्गल चराहरुले।
खान्छन् एउटै रुखको फल चराहरुले।
आकाशको बिभाजन कसरि गर्लान्?
गरे भने मान्छेको नक्कल चराहरुले।
काटेर फालौँ कि शिर के गरौँ?
बदल्नलाई यो तक्दिर के गरौँ?
मेहनत गरेकै हुँ मज्दुरी गरेकै हुँ,
चलेन गुजारा आँखिर के गरौँ?
एकोहोरो हरबखत सम्झिरहने।
बच्पन अनि बिगत सम्झिरहने।
तिमीले त बिर्सिदिनु भने कै हौ,
कस्तो बस्यो आदत सम्झिरहने।
नयाँ -बिचारहरुलाई -काम -दिनुहोस!
त्यो पुरानो सोचलाई विश्राम दिनुहोस!
चिप्लियो भने यदि दुर्घटना हुन सक्छ,
ए नेता ज्यु जिब्रोलाई लगाम दिनुहोस!
कोही पर्खाल लगाउछन् महलमा पनि।
कोही ढुक्क निदाउछन् धरातलमा पनि।
तिम्रो त घरमै पुग्ला आटो चामल,दाल?
मेरिआमा पालो कुर्छिन् ओखलमा पनि।
बुवाआमा सँग सँगै बच्पन काट्यो।
जवान भयो छोरा आगन काट्यो।
छोडी जाने जात हो भन्थे छोरीको,
छोरीकै घरमा बा,ले जीवन काट्यो।
आफ्नै खोइरो खन्न लाज लाग्नु पर्ने हो!
लाग्दै लागेन छ धन्न लाज लाग्नु पर्ने हो!
खुलम खुल्ला गाई काटेर खान्छु भन्नेले,
यार नेपाली हुँ भन्न लाज लाग्नु पर्ने हो!
रहरहरु भए कटौती जिन्दगीमा!
र थपिदै गए चुनौती जिन्दगीमा!
ए,समय कहिले सम्म चल्छ तेरो?
ज्यादती एकलौटी जिन्दगीमा!
यस्तै रहेछ मायाको खेल कुरै मिलेन!
तिमी बाटै भयो जालझेल कुरै मिलेन!
भन्थ्यौ तिमी आगो भए म पानी हुला,
तर आज भयौ मटीतेल कुरै मिलेन!
दिनेश धामीका ‘यस्तै रै’छ संसार’ मुक्तक संग्रह
