कविता वाचन

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

अस्ति पुलचोकमा
लोक-न्यायका निम्ति
कविता वाचन गरें
राष्ट्रीय सुरक्षा दलले लघा-यो,
ज्यान जोगाउन
टिकौलीको जंगलमा पस्दा
गैंडाका तस्करहरूले घेरे ।
हिंजो टाँडीको व्यस्त चोकबाट सुरु गरी
शक्तिखोर,दारेचोक हुँदै चन्डी भन्ज्याड्’गमा
राष्ट्रिय स्वाभिमानको कविता वाचन गरें
दलगत पार्टीका दु:शासनहरूले
चीर-हरण गरे ।

 


आज राष्ट्रिय निकुन्जको छेउछाउतिर
टाइगर टपको वरिपरि
विक्रम बाबा र वाल्मीकि आश्रम
काली गण्डकीको र त्रिशुलीको
दोभानका आसपासमा उभिएर
देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकता
कसरी बचाउन सकिन्छ भनी
कविता वाचन गरें ।
थाहा छ निकुन्ज भित्र
गैंडाका खाग, हात्तीका हाड़ र पुच्छर
अन्य जीव जन्तु र
बहुमूल्य वनौषधिका
अनि
चाप,सिसौ,साल, सल्लो, खमारी र खयरजस्ता
काठका ठुलै तस्करहरूको व्याप्ति छ
यी तस्करहरू
स्थानीय निर्वाचनका पताकामा फहराउँदै
कतै सामाजिक धमिरा बनेर
कतै सांस्कृतिक किर्ना बनेर
कतै शैक्षिक जुका बनेर
कतै धार्मिक उडुस बनेर
कतै जातीय जुम्रा बनेर
वा
केही नभए पनि-
गिटी,बालुवा र कड्’क्रिटरूपी
मकैका गबारो भएर
रूप फेरी फेरी आकाश फैलिरहेछन्
म भित्र भित्र सल्किने उपक्रम गरिरहेछन् ।
म तिनीहरूबाट भाग्दै,लुक्दै र भक्कानिदै
कविता वाचन गर्दै छु
म देश भित्रै क़ैद रहेको
सड्’क्रमणीय अवस्थामा
कसरी कविता वाचन गर्नसक्छु र !
तैपनि
अस्ति मुगलिन र माडीमा कविता वाचन गरें
हिजो खैरहनी,पर्सा भण्डारातिर कविता वाचन गरें
आज टाँडीको व्यस्त चोकमा
कविता वाचन गर्दै छु ।

छन्द : मुक्तलय
माधवपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.