मोसो पोतिएको समाचार

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आज
अस्वाभाबिक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नसा हैनन् शरिरका
र हुन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।
मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया-
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं- लाल लाल
साँच्चै अस्वाभाविक ।

 


खै कता हरायो मेरो
शालीन मुद्रा ?
मधुर बोली ?
मलिन चेहरा ?
को पस्यो मेरो छातीमा ?
को टाँस्सियो मेरो जिभ्रोमा ?
र, म भन्न खोजिरहेछु-
-नछोड् ।
-लखेट् ।
-ठोक् ।
भगा ।
नास् ।
मास् ।
किन निस्किए हँ यी शव्दहरू ?
यी त मलाई मेरी आमाले सिकाएका शब्द त हैनन् ।
हो, यो पनि अस्वाभाविक हो
जुन हतियार बाले नवरात्र लागेपछि मात्र
निकाल्ने गर्नुहुन्थ्यो, पूजा गर्न
त्यसैलाई म आज साँध लगाइरहेछु
स्वाराङ् स्वाराङ् स्वाराङ् ।
किं कर्तव्य बिमुढ छु
के उत्तर दिउँ मेरी आमालाई
जो कराउँदै हुनुहुन्छ-
हुँदैन बा हुँदैन
यो जिजुबाले जोड्नुभएको खुँडासंग
खेल्नु- खेलाउनु हुन्न बा ।
खै किन किन !
मेरो मनै तहमा आउन सकेको छैन आज
जसरी लजावन्ती झार बन्ने गर्थे
आमाको वचन सुनेपछि
अरु बेला ।
दाहिने हातले त च्याप्प समाएको छ बिँडमा
कुर्कुच्चा भत्काउन खोज्दैछन् भुइँको लिउन्
अनुभुत गर्दैछु-
कामिरहेका छन् ओठहरू
सुन्दैछु, कसरी बजिरहेछन् दाँतहरू
तर….
तर एकतारै हेरिरहेका छन् यी दुई आँखाहरू
अखबारको फ्रण्ट पेजमा
जहाँ
बल्ढ्याङ्ग्रे अक्षरमा स्पस्ट टल्किएका छन्
मोसो पोतिएका समाचार
रंगीन अक्षरहरूमा
एक: अरबौंका भ्रष्टाचारीले पाए सफाई
दुई: अनसनकारीको प्राणपखेरूले पायो बिदाई ।

२०७३ साउन २७
कौसलटार, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.