निगमपथमार्गी बनिदियोस् . . .

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

डुबायो बाढीले अझ कति अरू लान्छ यसले ।
अझै के हेर्दैछन् स्वजन किन बोल्दैन डरले ।।
छिमेकीको चाला गतिविधि कुनै छैन गतिलो ।
यता कोसी डुब्दा थर थर मनै हुन्छ अमिलो ।।१ ।।

अभागी नेताले किन यति कुरा बिर्सन गए ।
कठै नेपालीका पल पल गला रेटिन गए ।
यहाँ को पो बोल्छन् कृपण सरिका छन् अगतिला ।।
अहो देशै डुब्दा पनि किन यहाँ हुन्छ रमिता ।।२ ।।

 

यता बाढी पैरो पनि दिनदिनै उग्र छ अरे ।
उता केसी ज्यूको अनशन व्यथा रोक्छ कसले ।।
रुँदा सारा धर्ती खितितिति छ रे दुष्ट शकुनि ।
छिटो टुंगो लागोस् समयपछि के हुन्छ दगुरी ।।३ ।।

दुखेको छातीमा समर अब के शान्त रहला ।
अँ हो ज्यू ज्यू गर्दै भनन कति अन्याय सहला ।।
झुकाए झण्डाको सकल गरिमा आज यिनले ।
कहाँ उठ्ला साथी यति थिचिइँदा देश ऋणले ।।४ ।।

कुनै जन्मोस् यस्तो सकल ऋणको भार हरिद्योस् ।
छिनाल्दै वैरीका शिर पनि सबै भस्म गरिद्योस् ।।
दुराचारीलाई पनि हतकडीमा उनिदियोस् ।
र ती पुर्खा जस्तै निगमपथमार्गी बनिदियोस् ।।५ ।।

छन्द – शिखरिणी ,
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *