जयदेव गोविन्दका जोर कविता

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) मृत कलम !!
मुलुक छ चिर रोगी ‘औषधी सिद्धिँदै छ
समय गति विभेदी ढङ्गमा हुत्तिँदै छ
वसन डगमगाई लाज खस्तै छ मेरो
किन कलम सुते झैं मौन बस्तै छ मेरो ?

उपरतिर लुतो झैं “चाकरी रोग” लाग्यो
तल विकल गुहारी भन्दछन् “भोक लाग्यो
कदमकदम नाच्छन् घूसका जाल-झेल
किन कलम मरे झैं बन्न लाग्यो अचेल ?

 

दह-नद धमिला छन् धारिला दासताले
अमर, जनक, सीता चेपिए दुष्टताले
“रघुपति,शिव हारी कंस खोस्तै छ डेरा
अफल कलम लाटो-तुल्य हेर्दै छ “केरा” !!

जल-लवण उमाली घुट्ट निल्छन् कटेरा
विचलित गुँड कुर्दै “माउ” खोज्छन् बचेरा
जड छ नित सुतेको सर्प झैं राजधानी
कलम किन दशामा अल्पियो हार मानी ?

थर-थर-थर काँपे पाउको अर्थ के छ ?
तटतिर सुतिराखे नाउको अर्थ के छ ?
मृत कमसल विद्या घोक्नुको अर्थ के छ ?
क्षत कलम भुजामा बोक्नुको अर्थ के छ ?

किन नयन घुमाऊँ दीर्घ वा ह्रस्व गन्दै ?
किन “शव कुरुवा”झैं घोरिऊँ जीर्ण बन्दै ?
किन मगज-नसाका तार घोटी छिनालूँ ?
बरु कलम बिसाई ध्यान-सन्यास थालूँ !!

गण र लय मिलाए “गद्य”ले गर्छ खिस्सी
यति र गति बिगारे कण्ठ झिक्तैन “हिस्सी”
समर-सरि जुँगाका खेल झैं छन् लडाइँ
किन कलम उघारूँ द्वन्दमा फस्नलाई ?

चुप बस शुक मैना “कृष्ण गोपी” नभन्नू
सब विहग निदाई घाइते-तुल्य बन्नू
म पनि विषमताको मार थापी थिचिन्छु
मृत कलम लिलामी मूल्यमा बेचिदिन्छु !!

न त कलम कलामा अग्रता हाँस्न पायो
न समय उजिल्याई दासता मास्न पायो
किन “मुलुक दुखेको घाउ” बल्झाउँदै छु ?
किन कलम उघारी नित्य रुन्चे हुँदै छु ?

मृत कलम समाई तृष्टि के शेष हुन्छ ?
बरु फकिर-भिखारी बन्नु नै वेश हुन्छ
प्रभु ! कि लय र शैली ठाउँमा राखिदेऊ
कि मुसल घन ठोकी हात यी भाँचिदेऊ !!
छन्द :- मालिनी

२) दृष्टान्त [भाग : सात]
आआफ्ना क्षमता बारे अर्काले बोल्नु-पर्दछ
चाहे होस् सुनकै ताल्चा ! साँचैले खोल्नुपर्दछ !!
को ठूला कुन हुन् साना ! हुन् हाम्रै मनका कुरा
आगो फुक्ता झिँजा बाले शीघ्र सल्कन्छ दाउरा !!

थाले दुस्साहसी यात्रा पुग्दैनन् बटुवा पर
चम्चाले जलका थोपा खेपी रित्तिन्न सागर !!
“छोटा”को मनको विद्या चाँडै पोखिन्छ मात्तिई
सिङ्गो फर्सी कहाँ अट्ला बोकाको मुखमा दिई ?

नसोची स्वादमा फस्दा नाना आपत्ति पर्दछन्
खानाकै लोभले माछा बल्छी लागेर मर्दछन् !!
पाउन्नन् उच्चता कोही ‘मागेका मान’ले सदा
चस्मा वा कोटले ढाकी मान्छे बन्ला र के गधा ?

चिरञ्जीवी कुनै हुन्नन् खोक्रा वा छद्म नामले
बोकाबाटै चले दाइँ साँढे पालेर काम के ?
सबै आनन्दका वेला दोहोरिन्नन् पुन: पुन:
भाले मौरी त्यहीँ मर्छन् ! सिद्धिन्छन् जब मैथुन !!

“अर्तीका औषधी” खाई फेरिन्नन् निर्दयीपन
मुर्दाको खौरिई दाह्री खासै घट्तैन ओजन !!
“माग्ने” ले आर्जिए सुर्को बोके झैं ठान्छ ‘पर्वत’
भुस्याहा श्वानले टुक्रो हड्डी नै ठान्छ ‘दौलत’ !!

छन्द :- अनुष्टुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *