भाइ लाई दिदि को पत्र

Tirsana, sapkota, तृष्णा सापकोटा, pallawa, पल्लव

तृष्णा सापकोटा

प्यारो भाइ असीम सम्झना!
अनि शुभ आशिर्बाद,
सन्चै छौ अनि आराम छौ होला भन्ने शुभेक्षा छ। आजका दिनसम्म त शायद भगवानको कृपाले तिमीलाई कुशल नै होला। खै कहाँबाट शुरु गरौ मनभरी अनेकौ तुनाहरू छन। कहाँबाट खोलौं मनका गाँठाहरु । हिजो जस्तै लाग्थ्यो तिमी अनि म संगसँगै यौटै आँगनीमा लुकामारी खेलेको,गोटीचाली खेल्दाखेल्दै झमक्क रात पर्दासम्म घर फर्कने पत्तै नपाएको ।

 

उता गाई बस्तुले अर्काको बाली खाई दिदा खुट्टामा निलडाम लिएर साँझ घर फर्किदा ती निल डाम देखेर बाबा आमाले के भयो भनेर सोध्दा लडेर भनी ढाँटेको, ती दिनहरू अनि ती बनपाखा हरुमा खुर्पेटो लिएर घासपात गर्दै, ती कोइलिका कुहुकुहु आवाज घंकिंदा कति आनन्द लाग्थ्यो, अनि ती पखेराहरुसँग सुसेली हाल्दै गाउँदाको मज्जा अस्ति जस्तै लाग्छ। समयले कति कोल्टो फेरिसकेछ, सम्झिंदा पनि मनहरू उर्लिएर आउछन् ती बच्पनका यादहरू मानसपटलमा, कति खेल्थ्यौं रमाउथ्यौं, सुख दुख बाडथ्यौं।

आज हेर्दा हेर्दै तिमी पनि यौटा परीपक्व अभिभावक बनिसकेछौ। अस्ति जस्तै लाग्थ्यो बाबा आमसँग हामी दिदी,भाइ, बहिनी,सँगै कुटो कोदालो र बाउसे गर्दै संगसँगै बारी गोडमेल गरेको। अनि जीविकापार्जनको लागि गुजारा चलाउन दिन रात नभनी माटोमा जीवनयापन गरेर बिताएको । यस्तै संगर्षमय जीवनलाई आत्मसाथ गरिसँगै दुख सुख साटेर जीवनलाई गुजारेका थियौं। हामी स्वयम्लाई ती तिता एथार्थ उदाहरणहरू थाहा छ । दुई छाक खानको लागि जीवनलाई कसरी गुजारेका थियौं भन्ने। हुन त सबैले हाम्रो परिवारको गुनगान नगाएका पनि होइनन,हामीले एक आपसमा मिलेर पारिवारिक सहकार्यका साथ काम गरेको ब्याख्या पनि नगरेका होइनन। त्यति हुँदा हुँदै पनि यही समाजमा कतिले त इर्ष्या पनि गरे हाम्रो सफल पारिवारिक संरचनालाई देखेर । ती सबै हामीले नभोगेका होइनौ,त्यो तिमीलाई थाहा नै छ, यति हुँदा हुँदै पनि बढ्दो चरम महंगीको आर्थिक भार हामी माथि थप्दै जाँदाजीवन धान्नलाई निकै कठिन परेको थियो। हाम्रो आफ्नै ब्वाधनहरू थिए ।अनि आन्तरिक व्यवहारले हामीलाई थिचिरहेको थियो,तर पनि हामी कहिले हरेश खाएनौ।यी सबै कुराको श्रेय बाबा आमालाई दिन चहान्छु, जसले सहस, हिम्मत,र सहनशीलताको पाठ राम्रोसँग हामीलाई सिकाउन सफल हुनुहुन्छ।

भाइ,
यति हुँदा हुँदै पनि पारिवारिक र साहु महाजनहरुको ऋणले गर्दा तिमी आज परदेशी भूमिमा बस्नु परेको छ,आफ्ना इच्छा आकंछाहरुलाई थाती राखेर प्रदेशीको गुलाम गर्न बाध्य हुनु परेको छ, अर्काको देशमा मरूभुमिमा गिट्टी कुट्दै हात गोडाहरुमा ठेला उठाउदै गरेका ती दर्दनाक दुखहरू कस्लाई थाहा छ र। हातमा उठेका ठेलाहरू फुटेर रगताम्य हुँदा अनि भोकमा खान नपाएर पटुका कस्दै काममा जोतिनु पर्दा कति चोटी हृदयहरू पलपल मरेर ब्युझेका होलान, अनि त्यो प्रचण्ड पचास डिग्रीको घाममा काम गर्दागर्दै प्यासले ती ओंठ मुखहरू सुक्दा पानी पनि भन्न नपाउदै मरुभूमिमा चक्कर लागेर पछारिंदा कठै भन्ने पनि कोही नहोलान। अनि बाँचे पनि मरे पनि खबर दिने को नै होला। आएर गिद्धहरुले मरेका लाश माथि सिन्गोरी खेलिरहेका हुनेछन। त्यो व्यथा कस्ले नै देखेको छ र? देखेका छौ त तिमीले। हामीले त केवल पत्र पत्रिकामा पढ़दथ्यौं।

बाँचे पनि मरेपनि त्यो मरुभूमिमा कस्ले नै थाहा पाउँछ र त्यो बिरानो भूमिमा परिवारको खुशीको लागि सारा व्यथाहरू पर्दा पछाडि लुकाएर फेसबुकका वालहरुमा खिसिक्क हाँसेका तस्विरहरू हाल्थ्यौ ।अनि तिमी खुशी छौ भन्ने परिवारलाई लाग्थ्यो। तर तिमी भित्र आफ्नै पीडाहरू उकुसमुकुस भएर गुम्सेका हुन्थे। अनि पीडा र रोदनले भरिएको अन्तर मन भित्रको त्यो घाउलाई आफैंले मलम पट्टि लगाएर परिवार इस्ट मित्र अनि सम्पूर्ण सहपाठी हरुलाई बाहिरी आवरणमा सजिएर खुशीका साथ भालाकुशारी गर्नुपर्ने तिम्रो बाध्यता छ। साहु महाजनहरुको ऋणको बोझले आफूलाई खुशी भएको देखाउन तिमी बिवस छौ। घरबाट फोन गर्दा खिसिक्क हसिदिन्थ्यौ अनि सबै ठिकै छ जस्तो लाग्थ्यो तर आफूलाई कहाँ ढाट्न सक्छौ र, लामो बार्ता पछि आफूलाई सम्हाल्न नसकी भक्कनिदै रोइ दिन्थ्यौ। बनावटी त्यो हासो तिमीले कति नै रोक्न सक्थ्यौ र ।मनहरू थाम्न नसकी एक्लै भौतारिदै डुल्थ्यौ अनि आँखाका नानीहरू तिम्रा लागि साथी बनेर रोइदिन्थे त्यसपछि तिमी सारा मनहरू पखाल्थ्यौ त्यही आँशुले ।

भाइ यी सबै परिस्थिति भनौ या हाम्रो गरिबीको बाध्यता भनौ हामीलाई आर्थिक भारले थिचेको कारण सुनौलो भबिष्यका लागि तिमी परदेशिनु परेको थियो।अब त समयले धेरै कोल्टे फेरिसकेछ भाइ। तिमीले एकपटक कमलको फूललाई हेर्नु, चियाउनु हिलोमा भासिएर पनि कति चमक र सुन्दर पहिचान दिएको छ आफूलाई। तिमी पनि विश्वास र हिम्मतलाई दरिलो खम्बा जस्तै बनाई राख्नु। कुनै दिन तिम्रो मुहारमा पनि सूर्योदयको बिहानी किरण जस्तै झुल्किएर नौला बिहानी आउनेछन। अनि शान्ति र खुशीका लहरहरू वर्षिनेछन। सुनौला मोतीहरू टिप्न नसके पनि आत्मा सन्तुष्टिको श्वास फेर्न सक्नेछौ। त्यसैले जति दुख कष्ट गरिसक्यौ, जति प्रगति गरेका छौ त्यसमा खुशीरहन सिक्नु जीवनमा कहिल्यै नआतिनु। जीवनलाई सार्थक र सफलताको मार्गमा सदा डोर्याउने हिम्मत राख्नु। अब तिमी छिट्टै फर्किनु छ स्वदेशको माटोलाई रंग्याउनु छ, परदेशको भोगाइले देश प्रतिको मात्रित्वलाई पक्का माया गर्ने छौ, यहाको माटोलाई बिर्सिने छैनौ।अब त मातृभूमिको मायाले पनि तिम्रो दिललाई छोएको होला। अब ती पाखुराहरू आफ्नै माटोका लागि सिंचित गर्नेछौ। आफ्नै देशमा आफ्नै पौरखमा बाच्नेछौ भन्ने पूर्ण विस्वास छ। आफ्नै देशको माटोमा खुन बगाएर सुनका मोतीहरू टिप्ने छौ, देशलाई माया गरेर स्वदेश फर्कनेछौ, भन्ने मेरो बिनम्र अनुरोध छ,

अन्त्यमा भाइ,
मुखियाले एकाबिहानै लालपुर्जा लिएर बन्धकी राखेको हाम्रो त्यो सानो घरबारी पनि छ महिना पछि लिलामी निकालिदिन्छु पैसा तिर्न नसके भनेर बाबा आमालाई भनिरहदा तिम्रो त्यो कलिलो मस्तिष्कमा परेको छापले कलिलो उमेरमा पढाईलाई चटक्कै छाडेर तिमी परदेशिनु परेको पीडा आज पनि मानस्पटलमा ताजै छन। कहाँ बिर्सिन सकिन्छ र अस्ति जस्तै लाग्थ्यो तिमी परदेशिएको तर पनि निकै भैसकेछ। पारिवारिक भारले गर्दा तिमी बिवस थियौ प्रदेश बस्न। अब त ऋणबाट पनि मुक्त भइ सक्यौ केही प्रगति पनि गरिसक्यौ।त्यसैले तिम्रा ति श्रमजीबी हात र खुन पसिनाले आफ्नो देशको माटो रंग्याउनको लागि
आव्हान र पूर्ण विश्वश्का साथमा तिमीलाई कर्मघरबाट आशिर्बादका साथमा यो पत्र मार्फत शुभकामना साथ साथै धेरै इच्छा चहनाहरू रहदा रहदै पनि भाइ तिमीहरुको लागि केही गर्न सकिन, त्यसकोलागि हृदय देखि नै क्षमायाचना सहित यो पत्र तिमी स्वदेश फर्किने आशा सहित पठाएकी छु, पक्का फर्किनेछौ भन्ने पूर्ण विश्वासका साथ यो पत्र अहिलेलाई बिट मार्न चहान्छु, बाँकी भेटमा,
उही तिम्री दिदी

Tirsana sapkota , tirsanasapkota@gmail.com

2 thoughts on “भाइ लाई दिदि को पत्र

  1. वास्तवमा खुब मन परेको पत्र भाइलाई लेखिएको सायद मेरि दिज्जु भाको भएपनी यस्तै सोच्नु हुन्थ्यो होला मनमा लाग्यो।


  2. साह्रै नै ह्र्दयस्पर्शि अनि यथार्थ नेपाली समाजको समस्यालाई उजागर गरेको छ गजब लाग्यो बहिनि


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.