१) बाँचिन्न नेपालमा
आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते
कुप्रो झैं हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते
बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालमा
सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।।
बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर
कुर्दै फेद मनुष्य दर्शक बने टुप्पा चढे वानर
सुन्दै मादल नाच्नुपर्दछ यहाँ उफ्रेर बेतालमा
कुर्सीतर्फ झुकेर “ढोग” नगरे बाँचिन्न नेपालमा ।।
भाषामै पनि राजनीति मुछियो साहित्य पाटो पनि
हावा गर्दछ राजनीति सजिलै ढुङ्गा र माटो पनि
गोली-बारुद पड्कँदै कलम नै फस्दै गए नालमा
सुन्दै भाषण “उच्च काव्य” नभने बाँचिन्न नेपालमा ।।
सम्झी राष्ट्र विदेशमा तरुणका जत्था रुँदै खन्दछन्
“आऊ फर्क स्वदेश” भन्न सकिने आधार नै बन्द छन्
खोक्रो राष्ट्रियता र नागरिकता भर्ला र के थालमा ?
आफ्नै आँसु पिएर काम नगरे बाँचिन्न नेपालमा ।।
सारा ग्रन्थ-पुराणका हरफमा खोजिन्छ “ढाल्ने कला”
सच्चा मर्म नियाल्न खोज्छ जसले मारिन्छ छिन्दै गला
सोझो मार्ग लिएर शिष्ट हिँडिए भासिन्छ पातालमा
पुज्दै रावण “राम” भन्न नसके बाँचिन्न नेपालमा।।
“साने” भूमि सिँगार्छ झार्छ पसिना बाँझो पखेरो खनी
“ठूले” भाग असुल्छ भाषण गरी “सर्वत्र मेरो” भनी
“काले” को करबाट मालिक बन्यो “गोरे” नयाँ सालमा
भोग्दै शोषण “रामराज्य” नभने बाँचिन्न नेपालमा ।।
निर्धाको मुखभित्र गुन्द्रुक-ढिँडो पर्नै छ गाह्रो यहाँ
बाँचेको भ्रम छाड ! कष्ट नसही मर्नै छ गाह्रो यहाँ
रोगी रुन्छ, छ औषधी उपरको डिस्को, जुवा खालमा
भोग्दै मृत्यु “नवीन जन्म” नभने बाँचिन्न नेपालमा।।
हाम्रो राष्ट्रियता बनोस् मलम झैँ आक्रान्तका घाउमा
चेली “वस्तु” बनेर बिक्नु नपरोस् व्यापारका भाउमा
काटी भेद निकास रश्मि सजियोस् ढोका र सन्झ्यालमा
आस्था, गौरव, धर्म बेचिन गए बाँचिन्न नेपालमा ।।
शार्दूलविक्रीडित
२) प्राकृत विवाह [भाग दुई]
झलमल्ल छिन् चहकिएर दामिनी
वर हुन् कि झैँ घनघटा स्वयम् पनि
किन हौसिए गडगडाउँदै नभ ?
कि त थालियो शुभ विवाह उत्सव ?
छ असारको अति सुयोग्य साइत
कुहिरो लमी र नग छन् पुरोहित
दिन-रातका अतिथि सूर्य-चन्द्रमा
र दसै दिशा, क्षितिज छन् सुसारमा !!
तरु झल्लरी, विपिन पुण्य मण्डप
लतिका ध्वजा, तृण-बुटा सजावट
हर पत्रका चमर छन् सयौं थरी
जग पोत्दछन् सिमसिमे झरी परी !!
शुभ इन्द्रिनी छ वरको नयाँ लुगा
पगरी चुली चउरको छ पादुका
गिरि कोट झैं र सुरुवाल फाँटका
वर देखिए जलद नव्य छाँटका !!
दुलही परी वसन रश्मि लाउँछिन्
नव दीप झैँ क्षण मिलिक्क आउँछिन्
गहना बने हिमछटा, थली, वन
झरना नदी थप सिँगार साधन !!
रङ भर्दछन् बदलिएर पालुवा
घिउ झैं हिलो र बुकुवा छ बालुवा
नर, जन्तु वा विहग अन्य पाहुना
रमिता भए भुवनका कुनाकुना !!
बिजुली परी मुख लुकाउँछिन् जहाँ
जल छेप्दछन् घनघटा पुगी त्यहाँ
मदमत्त छन् अलि हतारमा उनी
शशि मक्ख छिन् प्रणयका कुरा सुनी !!
“पिपिरी” फुकी शुक निनाद गर्दछन्
“धुकुरी” गरी गज मिठास भर्दछन्
हर कोइली गुनगुनाउँदै उडे
भँवराहरू भुनभुनाउँदै उडे !!
मृदु बाँसुरी पवनले बजाउँछन्
सनही फुकी मुजुर गीत गाउँछन्
स्वर भर्दछन् पर लुकेर शालक
नभ ठोक्तछन् “ढररढम्म” ढोलक !!
जल बर्सिई शुभ विवाह थालियो
असिना झरी चरु र होम हालियो
बिजुली-सँगै जलद मस्किई बसे
हिमका नदी लगन-निम्तिमा खसे !!
पृथिवी मिठो जल पिई खुसी भइन्
अझ उर्वरा र हरियो हुँदै गइन्
भरिए गरा फसल बीज रोपियो
धुमधामले शुभ विवाह सिद्धियो !!
रजनी सखी, जुनकिरी टुकी थिए
उपहारमा कुसुमले बुकी दिए
नव बैंसका गफ गरेर मातको
रति थालियो मधु सुहाग रातको !!
शिशु जन्मिए फसलका नयाँ मुना
अझ फेरिए प्रकृतिका टुनामुना
मन भन्छ “यो शुभ विवाह भोज हो”
अलि फुर्किँदै कलम भन्छ “मोज हो !”
छन्द: मञ्जुभाषिणी
विश्राम: पाँचौं अक्षरमा
२४, असार २०७४ शनिबार । नुवाकोट !!
३) भाषा, व्यास र बाधा
भाषा भूत, भविष्य हो मुलुकको यो हुन्छ साझा धन
भाषा होइन खेलझेल लख वा सस्तो मनोरञ्जन
माताकै सरि हुन्छ उच्च गरिमा भाषा र सञ्चारको
ठट्टा तर्क-वितर्कभित्र थुनिए यो बन्छ बेकारको ।।
“नेपाली” किन आज पश्चगतिमा हिँड्दैछ रोगी बनी ?
सोझा कथ्य र सभ्य लेख्य विधिका निभ्दै गए चाँदनी
कोही रीत हटाइए लहडमा थाले कुनै बाङ्गिन
सस्ता स्वार्थ र राजनीति बलले मोलिन्छ भाषा किन ?
श्रेणी चढ्नु विकासको नियम हो यो सर्वथा सत्य हो
श्रेणी नै तल झार्नु यो नियत के विश्वासिलो तथ्य हो ?
भाषा लम्कनुपर्छ अग्रगतिमा, सम्प्रेष्य बन्दै तर
बाङ्गो क्लिष्ट अबोधगम्य किन यो बन्दै गयो जर्जर ?
भाषाछेदन पाप हो, कलुष हो संहार शार्दूल हो
पढ्दामा “फुल”हुन्छ अर्थ कुन हो अण्डा कि वा फूल हो ?
जेजे दीर्घ बनेर सज्जित थिए उल्टो बनी ह्रस्व छन्
धर्का, वाक्य पदावली सब डिका भत्केर अस्पष्ट छन् !
केके तत्सम शब्दका नियम छन् आए हिजो के गरी ?
सारा तद्भव शब्द ती लहडमा जन्मे कि आफैँ झरी ?
हाम्रा देशज शब्द के कति बने, के चाहिँ आगन्तुक ?
मारिन्छन् किन सत्यतथ्य, तिनमा ताकी छुरा बन्दुक ?
अस्ताए पदयोगका विधिहरू केले तिखारी ठुँगे ?
सिङ्गो नाम फुटे क्रियापद फुटे अर्कै डिकामा पुगे
धेरै छन् अलमल्ल शिक्षकहरू बुझ्ने दुई-चार छन्
जान्ने तर्क-कुतर्कमा बहकिए ! सिक्ने निराधार छन् ।।
अग्लो गौरव बन्छ शुद्ध पथमा भाषाकला उक्लिए
गिर्ला ओजन शिष्टता, सरलता, शालीनता फुक्लिए
भाषामै झगडा र युद्ध चुलिए मिल्ला र टेवा कतै ?
भाषा सीमित वर्गका जनकका बन्दैन पेवा कतै ।।
भाषाको गरिमा बलात्कृत भए मासिन्छ मारिन्छ यो
“नेपाली” कि त राष्ट्रमा अब कतै बोल्दै नबोले भयो
“फोस्रा व्यास” कदापि बाधक नहून् भाषा-कला भेषमा
“एकै मानक”बोधगम्य सजिलो भाषा रहोस् देशमा ।।
छन्दः शार्दूलविक्रीडित
