‘शराह’ प्रणय उद्गार !!

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

आऊ हे ! प्रिय चाहिँदैन भवको ऐश्वर्य वा वैभव
आऊ हे ! प्रिय साधना श्रम यहीँ सङ्गै गरौँला अब
आऊ हे ! प्रिय वेदना द्रवित छन् आगो बल्यो दन्दनी
मायामा छ सदा सदा प्रणयको सत्कार सञ्जीवनी ।।

जे चाहिन्छ जुटाउँला हृदयको सौहार्द संवेदना
जो पाइन्छ उठाउँला सँगसँगै हाँस्दै र खेल्दै यहाँ
होला सार्थक जिन्दगी यदि कतै सङ्गै रमायौँ भनी
होस् आत्मीय प्रवाहमा प्रणयको सत्कार सञ्जीवनी ।।

 

आधा जीवन रुन्छ यो वतनमा आधा रहन्छौ पर
भैगो त्यो दु:ख कष्टबाट सजिलै बन्दैन हाम्रो घर
आफ्नै स्वच्छ हिमालको बगलका पाखा पखेरा मुनि
खोस्री प्राप्त गरिन्छ सद्प्रणयको सत्कार सञ्जीवनी ।।

पुर्खाको बलबाट रक्षित थलो सम्झन्छ तिम्रो दिल
बस्छन् आश गरेर आउँछ भनी ती न्याउली कोकिल
सम्झन्छन् सब बाल वृद्ध वनिता साथी सहेली पनि
सिङ्गो राष्ट्रसँगै छ रे प्रणयको सत्कार सञ्जीवनी ।।

खाँचो लौ अरविन्दको किन पर्यो छन् नेत्रमा सज्जित
गर्छन् स्वागत यी पयोधर दुबै निष्काम भै लज्जित
पञ्जा आतुर छन् चपक्क तनमा टाँसेर राख्छन् यिनी
के चाहिन्छ अहो ! छ यो प्रणयको सत्कार सञ्जीवनी ।।

छन्दः शार्दूलविक्रीडित !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.