के छ त अरु ?

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

घडेरी धेरै छन् घर पनि बनायौ चहकिलो ।
गरेनौ बाबाको किन समयमै औषधिमुलो ।।
उता आमा रुन्छिन् विरहमनले व्याकुल बनी ।
यता छोराछोरी पनि मन बटार्छन् छि छि भनी ।।१ ।।

कि प्यारो दामै हो रविकिरण झैँ नाम छ भने ।
कि ता प्यारो बोली हरमनुजले बोल्दछ भने ।।
कहाँ खोजूँ मैले हितमित सखा यो भुवनमा ।
तपस्याको बाटो लुरुलुरु हिंडी एकल यहाँ ।।२ ।।

 

कसैले चिन्दैनन् रमझम बिना यो जगतमा !
सबैका घैटामा सत चित सुधा पच्दछ कहाँ ??
जहाँ आफ्नै मान्छे अपहरणमा तन्मय हुनन् ।
इसारा बेग्लै छन् छलकपटका आदत त झन् ।।३ ।।

कुसंस्कारी मान्छे घृणित गनिनेछन् मनुजमा ।
अहंकारी-लोभी जति धन कमाऊन् भुवनमा ।।
अहो ! पैसा भन्दै कलुषित नपारौं मगज-यो ।
सुखी को हो सोध्छौ रज-तम बिनाको मनुज त्यो ।। ४ ।।

सबै छोराछोरी असल-मनका छन् यदि भने !
कुरा बुझ्ने पत्नी सरलसरिता छिन् यदि भने !!
मिलोस् बा-आमाको प्रभुचरण त्यो पाद-शरण ।
ल है प्यारो साथी भन-यति सुखी को छ नरमा ? ५ ।।

बनोस् बोली हाम्रो सुमधुर कला जीवन-सुधा ।
कला दौडी दौडी हिमगिरि चुमोस् कोकिल-गला ।।
मिलून् हात्ती-घोडा वरिपरि रहून् सेवकहरू ।
सबै छोडी जान्छौं उसबखतमा के छ त अरू ? ६ ।।

छन्द-शिखरिणी ।
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *