“जवाफ”

anamika, sajal, अनामिका सजल, pallawa, पल्लव

अनामिका सजल,

ओ साथी अलि नजिकबाट
नियालेर हेर त
मेरो निधार, यहाँ केही देख्छौ ?
मैले मेरो निधारमा लगाउने अविरको टीका
सोधेको होइन ,
न त सोधेको हुँ आँखी भुइँमाथिको तिल
कोठी
अनि
हेर न थेप्चो न लाम्चो फुली फुकालेको नाक
यो नाकले कुन जात जनाउँछ हँ ?
साना-साना आँखा नसप्रिएका परेला
यी हेर त बाटुलो अनुहार
यसले कुन भुगोलकोर्,धर्म र जातको नक्सा
कोरेको छ –

 


म जान्न आतुर छु
मेरा जिजुबा ऊ बेलाका जमिनदार गोरु
जत्तिकै जोतिन्थे रे
खोरियाहरुमा हजुरबालाई
अक्षर चिनाउन अक्षर चिनेका हजुरबा वेद
पुराण जम्मै जान्दथे ,
र पनि सेरोफेरोकै जजमानीमै चित्त बुझाए मेरा
बाले
अक्षर मात्रै चिने, क ख ….को आकृति

१-२ को जोड घटाउ अक्षरहरुसँग खेल्न चाहेनन्
क्यार
साँवामै अघाए सायद
र पनि जुध्न डराएनन् पञ्चायती व्यवस्थासँग
बाले पानी चल्ने आमा भिर्त्याए
विडम्बना आमा पनि बा जस्तै बिटुलो भइन्
र म जन्मिएको हुँ
साथी आउ नियाल मेरो अनुहार
र भन म बा जस्तो देखिन्छु कि आमा जस्तो
मलाई दुवैको बराबरी माया लाग्छ
र दुवैलाई म बराबरी हक लाग्छु
मेरो अनुहार नियालेर मभित्रको अवयब पढ
र छुट्याऊ मेरो जात ,
मलाई मेरा “बा” र “बा” हरुबाट आएको जात
विस्थापन गर्नुछ
र स्थापित गराउनुछ
मेरो विवेकले “म” मा बनेको जात,
भन अब
मेरो जात के हुन सक्छ तिम्रो शास्त्रमा ??

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *