पीठमा धाप मारून् !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

किन किन कविताको मोह नै छाड्न गाह्रो ?
वसन अनि खजाना नीदभन्दा पियारो
छमछम सपनामै नृत्य झैं सल्बलायो
भुज मगज फसायो मोहनी नै लगायो !!

छलफल छ यसैमा शब्दखोला यसैमा
गहन मत यसैमा शिल्पझोला यसैमा
मन फुरफुर पार्ने दिव्य रोदी यसैमा
अवगुण तम मार्नै भाव मोती यसैमा !!

 

रिस-रस, ममतामा, खेदमै काव्य बन्छ
मिलजुल, समतामा, भेदमै काव्य बन्छ
अजर छ कविता यो ! मिल्छ जल्दो चितामै
उपनिषद र सिङ्गा वेदका कण्डिकामै !!

प्रतिपल कविताकै निम्तिमा हात खोलूँ
कमसल अभिधामा व्यञ्जना लेप घोलूँ
गहन मगज बन्दै विश्व सारा अटाओस्
भरभर यसभित्रै सृष्टि हाँगो पलाओस् !!

जब मन कविताको सिन्धुमा हाम फाल्छ
प्रकृति हरित बन्दै, फक्रिंदै फुल्न थाल्छ
ढकमक हुन थाल्छन् पङ्क्ति भर्दै बगैंचा
चउर,वन-पखेरा लाग्न थाल्छन् “गलैंचा” !!

जुट हर कवि मीठा काव्यमै खेल्न थाल
कथन र करनीमा रीत नौला बसाल
निकट छ अति तिम्रा काव्यका साथ नाता
स्वजन र हितकारी काव्य तिम्रो विधाता !!

कवि नगद बिटाको मोहमा बिक्नु हुन्न
पद अनि थपडीका आडमा टिक्नु हुन्न
नगद मयल झैं हो खर्च गर्दा सकिन्छ
अकलुषित कलाले ब्रह्ममा तृष्टि दिन्छ !!

“अरब” छ कम तिम्रा साधनाका अगाडि
जुट अबिर र खादा, “मान”का मोह छाडी
श्रम गर बरु थोत्रा वस्त्र-जुत्ता लगाऊ
तर हरपल नौला सिर्जनामा रमाऊ !!

वहुजन कविताकै निम्तिमा भेट्न आऊन्
वजन छ कति तिम्रो ! लोकले बुझ्न पाऊन्
सकल हरफ सुन्दै पग्लिँदै अश्रु झारून्
“गहन मत” विचार्दै पीठमा धाप मारून् !!

छन्दः मालिनी ।
● जयदेव गोविन्द नुवाकोट ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *