चन्द्रमा

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

हे चाँदनी ! तल जगत्-तिर घुम्न आऊ
आफ्नो सुरम्य इतिहास सबै सुनाऊ !
आकाशमा कुन दिशा-तिरबाट आयौ ?
त्यो स्निग्ध, सुन्दर छटा कसबाट पायौ ?

त्यो दिव्य रूप कसले रचना गरेछन् ?
त्यो मोहनी मधुरिमा कसले भरेछन् ?
हौ अप्सरा गगनकी कि त किन्नरी हौ ?
यी नेत्र मोहित भए ! कति सुन्दरी हौ ?

 

खोज्दै छु नाम र नयाँ पहिचान तिम्रो
खोज्दै छु यो कलमले नव गान तिम्रो
आगो भनूँ त अनुभूति हुँदैन तातो
काली भनूँ छ “शिशु” मा अनुहार रातो !!

टेको-विना उपरमा कसरी चढेकी ?
डोरी-विना गगनमा कसरी अडेकी ?
राम्री बनी नबस दैनिक मस्किएर
जिप्ट्याउलान् भ्रमरका हुल झुम्मिएर !!

बन्छ्यौ नवीन दुलही-सरि पूर्णिमामा
हाँस्छ्यौ प्रभा-किरणले भरिई निशामा
जान्छ्यौ कहाँ र कहिले रवि भेट्नलाई ?
पर्छन् उनी खसम या कि त दाजु-भाइ ?

हे मोहिनी नभपरी ! गफ गर्न आऊ
आँखा,दिमाग, रसना,मन भर्न आऊ
सुक्खा दिमाग र मसी-सित मुस्कराऊ
निष्प्राण यो कलममा कविता भराऊ !

बन्छन् सयौं कृति तिमी उपमा बनेर
तिम्रो बयान म गरूँ अब के भनेर ?
तिम्रो छ उच्च महिमा सुर लट्ठ पार्ने
तिम्रो छ धैर्य शुभ शीतलता उमार्ने !!

हे चन्द्रमा ! शशि भनूँ कि हिमांशु,इन्दु ?
टीका भनूँ गगनको कि त रक्त विन्दु ?
जेजे भनूँ जति भनूँ उपनाम तिम्रा
छन् शान्ति-कान्ति उपमा अबिराम तिम्रा !

हौ कान्तिकी मधुरिमा गुणकी धनी हौ
हौ शान्ति वाङ्मुख परी सुखदायिनी हौ
मान्छे तिमी-सरि भए किन युद्ध हुन्थे ?
मानौं छुचा दनुजका मन “बुद्ध” हुन्थे !!

चिर्छ्यौ निशा सगरमा नित मुस्कुराई
मान्छ्यौ न झन्झट कुनै न झिँजो थकाइ
“खै सुन्दरी छु म” कतै भनिनौ कदापि !
सम्पूज्य दीपक शिखा-सरि छ्यौ तथापि !!

तिम्रा महान् छवि युगौँ-युग टिक्नु पर्छ
तिम्रा कला मनुजले पनि सिक्नु पर्छ
तिम्रै मुखाकृति-समान सुभावना हून्
सामान्य जीवन जिऊन् मन उच्च राखून् !!

हे जून ! ती गुण यता पनि सारिदेऊ
यो दासको जनम सार्थक पारिदेऊ
होस् निम्न जीवन सदा यतिमै रमाऊँ
देऊ कृपा ! गुण तिमी-सरि उच्च पाऊँ !!

छन्द: वसन्ततिलका

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *