शुक्लयजुर्वेदका केही मन्त्रको पद्यमय भावार्थः

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

इषे त्वा ……।१।
काटी शमीको बलियो छडी म
दगुर्छु गाईसित यो घडी म
बाच्छाहरू वायुसमान सर्कून्
गोधूलि आएपछि गोठ फर्कून्
गाई कसैले पनि चोर्न हुन्न
सताउनै हुन्न चिथोर्नुहुन्न
प्रशस्त बाच्छा पनि पाइदेऊन्
नीरोग हून् दूध बगाइदेऊन्
म इन्द्रको यज्ञ गरूँ तयार
सभक्ति अर्पूं अनि दूधधार
गाई ! तिमी छौ र बनूँ म ढुक्क
लिऊँ सुरक्षार्थ छडी थुपुक्क

 

वसोः पवित्रमसि……।२।
यो दूध आफै पनि हो पवित्र
पवित्र हालेपछि झन् पवित्र
कुँडे ! तिमी द्यौ पृथिवी दुवै हौ
बत्ती तिमी हौ सबकी सबै हौ
ओदानमा सुस्थिर भैरहू हे
तताउने अग्नि सबै सहू हे
यो यज्ञका मालिकसम्म आई
कुँडे नकोल्ट्याइदिऊन् समाई

वसोः पवित्रमसि शतधारम्….3
छचल्किएको छ सहस्रधार
पवित्र हे ! दूध पवित्र पार
दुहेर ल्यायो कसले नि गाई
कुँडेभरी शोभित छल्बलाई
श्रीसूर्य आफै नभका सितारा
पवित्र पारून् अब दूधधारा

सा विश्वायुरिति…….।४।
यो विश्वकै हुन् कि त आयु गाई
यी विश्वकर्मा अनि विश्वधाई
दुहेर ठेकीभरि दूध ल्याऔँ
दही बनाई प्रभुमा चढाऔँ
हे विष्णु ! यो अर्पण हात पार
यो भक्तको जीवन धन्य पार

अग्ने व्रतपते व्रतं चरिष्यामि…….।५।
हे वैश्वानर यज्ञपालक ! गरूँ पूरा अनुष्ठान म
तिम्रो आसिकले विराट् गगनमा उक्ली बनूँ धन्य म
गर्दा काम कुनै कमी हुन गए पाऊँ म माफी अनि
आफ्नै मानिसको भनेर मख यो पूरा गराऊ तिमी
कस्त्वा युनक्ति स त्वा युनक्ति……।६।
प्रश्न—तिमीकन यहाँ बसाल्न कुन देवता आउँछन् ?
उत्तर—प्रजापति ।
प्रश्न—छ लक्ष्य के, किन तिनी यहाँ ल्याउँछन् ?
उत्तर —यहाँ भइरहेछ यज्ञ, अतएव ।
साँचो सुन
प्रजापति र पात्र हुन् सतत यज्ञका साधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.