‘प्रश्न’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

“घरेलु हिंसा न्यूनीकरणमा सासूको भूमिका” बिषयको कार्यशाला गोष्ठीमा करीब दुई दर्जनजति महिला सहभागिहरू थिए । यसमध्ये धेरैजसो विवाहित गृहिणीहरू र केही अविवाहित केटीहरू पनि थिए ।
छलफल चल्दैथियो । आ-आफ्नो जीवन-भोगाइको आधारमा सासुको चित्रण गर्दै पालैपालो धारणा राक्नु पर्ने क्रम आयो ।
“सासू भनेका कृतघ्नी जात हो, जत्ति गरेपनि खुसी राख्न सकिँदैन” भन्दै एउटी अधबैंसे महिलाले आफ्नो कुरा टुङ्ग्याईन् ।

 

“सासू हुन पनि सजिलो छैन है ! बरु म त बुहारी छँदैखेरि आनन्द थियो भन्छु ।” एउटी पच्पन्न-साठीकी देखिने महिलाले भनिन् ।
“आफ्नो त बिहे गर्दैखेरि सासुआमा हुनुहुन्नथ्यो, भैदिएको भए कति थोक सिक्न पाउँथें होला भन्ने लाग्छ !” अर्की महिलाले भनिन् ।
“साँच्चै भनूँ, मलाई त त्यो सासू भन्ने जन्तुको पित्को पनि माया-दया लाग्दैन” भर्खर भर्खरै बिहे भएजस्ती महिलाले भनाइको अन्त्यमा आक्रोश पोखिन् ।

धेरैले धेरै कुरा राखे सासूका सम्बन्धमा । धेरैजसोले कुटिल पात्रको रुपमा चित्रण गरे भने कसैकसैले सकारात्मक भूमिकामा ।
“बहिनीहरूको बिचार के छ नि ? “सहजकर्ताले सभाकक्षको कुनामा ट्वाल्ल परेर अरूका कुरा सुनीरहेका दुइटी केटीहरूतिर फर्केर सोधिन् । दुईटै के भनूँ के भनूँ भए । यसैबीचमा एउटीले घोसे मुण्टो लगाउँदै भनिन्-
“यहाँ भएका सप्पै बुहारी हुन्, यहाँ भएका सप्पै सासू हुन् । अब आफैंले आफैंसित सोधौं न त, आफू कस्तो ?”

२०७४ साउन ८
कौसलटार, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.