चिन्तन्

‎Prativa, Poudel‎,, प्रभा पौडेल, pallawa, पल्लव

प्रतिभा पौडेल

माटो उर्वर हौसला अझ थपी त्यो जोस चम्काइदे
भ्रष्टाचार बिरुदका बिजयको आकाश झंकार दे
अर्काको पसिना चुसे जहरभै आक्रोस वर्षाइदे
निर्धा चुस्छ कुनै त काल कूट भै ढालेर उठ्नै नदे ।।

जो जो गर्दछ प्रेम भित्र दिलमा चिन्ता यहाँ देशको
उस्कै भाव छचल्किदो छ दिनहूँ भाषा तथा भेषको ।
बढ्दो मोहबिलासमा छ दुनियाँ बड्दैछ आडम्बर
धावा बोल्छ बिनासमा प्रकृतिको आघात मान्छिन् धरा ।।

 

माटो देखि घिनाउने प्रबृतिको संस्कार बन्दैछ कि !
मान्छे आज विदेश मात्र मनको संसार ठान्दै छ कि !
आफ्नो राष्ट्र र शान गौरव बिना के हुन्छ आफ्नो पनि
स्वार्थी भै किन बिर्सिदै छ जनले माडिक्य माटो पनि ।।

संलो प्रेम उघार्न खोज्छु दिलको आफ्नै धरा कन्दरा
तिर्खा मेट्छु पियूस तुल्य हिमका त्यो शैल धारातिर
पाऊँ रम्न म काख प्राण सरिका मैदान पाखा गरा
हुर्काऊँ हिमशैल फाँट ममता भर्ने नयाँ आँकुरा ।।

आशिर्वाद मलाइ अग्र कविको मातापिताको मिलोस्
लेखूँ काव्य अनन्त ज्ञान छरिदै मोती बनी चम्कियोस् ।
नेपाली मनको पवित्र तुलसी संसार छर्दै रहूँ
हेरूँ विश्व म शैलका नजरले पासाङ तेन्जिङ म हूँ ।।

छन्दः शार्दूलविक्रीडित
प्रतिभा पौडेल,
इलाम,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.