वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।
१. आरुआरती
छन्दमा लेख्न कठिन हुन्छ । लघुगुरु मिलाएर मात्र कविता बन्दैन । छन्दलाई कविले जित्नुपर्दछ । यस्तो प्रतिभा सबैमा प्राप्त हुँदैन । तर प्रकाशजीमा नपत्याउँदो पाराले छन्दले आक्रमण गरेको रहेछ । उनमा छन्दलाई खेलाउने ताकत रहेछ, र हार स्वीकार्नु परेको रहेनछ । पहिलो कृतिमै उनीसित छन्द फुरुक्क परेको छ । मन्दाक्रान्ता छन्दमा संरचित उनको आरुआरतीका कविता कोमल, कारुणिक एवम् मर्मस्पर्शी लाग्छन् । भावना सलल बगेको छ । बीस–बाइसे उमेरमा लेखिएको यो काव्य प्रौढ हातले लेखेजस्तो लाग्दछ ।
पस्तुत काव्यमा कविजीले हे मान्छे हो !, आरुको पाठशाला, औँसी भाग्यो सडक बिजुली, हेर्दाहेर्दै युग बदलियो, प्यासी काकाकुल गगनमा, भो भो जाली गर्नुपर्दैन गाली, जुनेलीको वरिपरि गोल गोरो, तिमी भावना मञ्जरी हौ, गोरो छोरो उदय नभमा, प्रेममा स्वर्ग लागे आँसु रोकेर बाँच र सम्झी प्यारा–आरती जूनतारा गरी १२ शीर्षकका ८१ श्लोकमा आफ्ना मनका भावना पोखेका छन् । सबै शीर्षकका कविता मन्दाक्रान्ता छन्दमा संरचित छन् । प्रस्तुत काव्यका विषयमा आफ्नो मंगलकामना शीर्षकमा डा. राजेन्द्र विमलले भनेका छन्— “आरुआरती मिनी खण्डकाव्य भए पनि विप्रलम्भ शृंगारमा चुर्लुम्म डुबेको एउटा रङ्गोज्जल कृति हो । राष्ट्रकवि माधव घिमिरेको काव्यपरम्पराको नव्यतम श्रृङ्खलाको रुपमा झुल्किएका र झिल्किएका कवि प्रकाश कोइरालाको यो कृति पनि कविचेतनाको लघुआकाश हो ।”
राता–राता अधर तिनको लालुपाते सजेको
छोटा–छोटा पहिरन थिए, खै ! कहाँ को लजेको ?
रागेपाटे नजर दुइटा गाजलैले सजेको
देख्दा दन्तलहर तिनको त्यो हिमालै डगेको
(आरुको पाठशाला)
२. यो देशको नाउँमा
फुल्थ्यो फूल ढपक्क यो मुलुकमा, माली थिए मानिस
जान्थे शत्रु अगाडि फुत्त सुरिई फाली थिए मानिस
नेपाली गुणगान विश्वभरमा लाली थिए मानिस
कत्रो पौरख सदा पियुषको थाली थिए मानिस
(यो देशको नाउँमा)
कवि प्रकाशको दोस्रो खण्डकाव्य यो देशको नाउँमा (२०६६) हो । पहिलो खण्डकाव्य प्रकाशनको लगत्तै पछिल्लो सालमा उनले अर्को खण्डकाव्य प्रकाशन गरे । कविमा लेखनशक्ति तीव्र रहेको पाइन्छ । त्यतिमात्र होइन, उनको कविता लेखनशैली अत्यन्तै मीठो, सरल एवम् सुबोध्य छ । भाषा व्याकरण, शुद्धाशुद्धितर्फ पनि उनलाई सफलता मिलेको छ । पहिलो खण्डकाव्य मन्दाक्रान्ता छन्दमा संरचित छ भने यो काव्य पूजा गर्छु दियो कलशले १०, द्वन्द्वपूर्व नेपाल १००, द्वन्द्वमा नेपाल २०० र यो देशको नाउँमा ११९ गरी ४२९ शार्दूलविक्रीडितका श्लोकहरूमा संरचित छ ।
काव्यमा द्वन्द्वपूर्व नेपालको खासा (राम्रो) चित्रण गरिएको छ । पुर्खाको रगत पसिनाले चुर्लुम्म डुबेको यो देश, मातृभूमिप्रतिको माया ममताले कविजीलाई बेपत्ता समातेको छ । उनी राष्ट्रप्रेमसँग हराएका छन् । तर द्वन्द्वमा नेपालले धेरै दुःख कष्टका अँध्यारा बाटाहरुमा अलमलिनु परे पनि यो देशको नाउँमा केही त भएकै छ, भनेर चित्त बुझाउनु सिवाय कविमा के छ र ! दुनियाँले यसै भनेका छन् भनेर उनी लहैलहैमा लागेका छैनन् । उनमा आक्रोश, पीडा, द्वन्द्व, क्रोध आदिले ठाउँ–ठाउँमा आक्रमण गरिराखेको छ—
मर्यादा अनि शानमान छ यहाँ काली तिमी लोककी
हे काली, डुब राक्षसी रगतमा माता तिमी भोककी
हाँस्छ्यौ राक्षस काट्न मार्न सुरिई छैनौ तिमी शोककी
हे दुर्गे, डुल क्रान्तिको मुलुकमा माता तिमी मोजकी
(यो देशको नाउँमा)
३. जागृति जागरण
कवि प्रकाशका काव्यमा राष्ट्रप्रेम छ, इतिहास, वर्तमानका पीडा बोलेका छन् । भविष्यप्रतिको चिन्ता छ । यहाँको व्यवस्था, शाषकको अज्ञानताले हामी विश्वसाम्ने झुक्नु परेको गुनासो छ । काव्यपारखी कवि प्रकाशका कवितालेखन–सामथ्र्य उच्चकोटिको छ ।
यो तेस्रो खण्डकाव्य जागृति जागरणलाई कविजीले स्रग्धरामय बनाएका छन् । काव्यका प्रेमार्पण १९ श्लोक, खण्ड एकको क्रान्ति, प्यारी र प्रेमी ८९ श्लोक, खण्ड दुई— सिद्धान्त र भीष्मप्रतिज्ञा १२९ श्लोक र खण्ड तीन— गृहकलहमा देशवासी १०९ गरी स्रग्धराका ३४६ श्लोकमा कविजीले खण्डकाव्यलाई पानी बनाएका छन् । लामो छन्द भएर के भो र ! स्रग्धरालाई असाध्यै सजिलो तरिकाले प्रयोग गरेका छन् उनले । नौनीघीउमा औंला गाडेजस्तै । आहा ! कति सहज तरिकाले लेखेका छन्—
सारा आकाश धर्ती, पवन र वयली प्रेमका मञ्जरी हुन्
सारा ढुङ्गा र माटा, हर रुखबिरुवा प्रेमका दौंतरी हुन्
सारा प्राणी र पानी, कुसुम र भमरा प्रेमका सारथी हुन्
सारा वर्षात–छायाँ अनि रवि र शशी प्रेमका पारखी हुन् ।
(प्रेमार्पण)
कवि प्रकाश कोइरालाको काव्य–स्नेहाघ्र्यमा डा. राजेन्द्र विमलको मत छ— “कविको राष्ट्रप्रेम, सूक्ष्म निरीक्षण र तिनको कलात्मक अङ्कन, मानवतावादी मूल्य, ललित–कलित शब्दावलीको मनोहारी विन्यास, ऐतिह्य ज्ञान, समकालीन युगबोध आदि अनेक वैशिष्ट्यले गर्दा मैले जहिले पनि उनमा राष्ट्रकवि माधव घिमिरेको बालरुप, किशोरुप र युवारुपको दर्शन गर्दै आएको छु ।” कविजीमा उच्चचेत छ, लेखन क्षमता माथिल्लाकोटिको कविसँगसँगै छ । उनमा जुनसुकै छन्दसँगमा खेल्नसक्ने तागत छ । कवितामार्फत् सरल भाषामा आफ्ना भावनालाई सहज अभिव्यक्तिका रुपमा दिन जोकोहीलाई गाह्रो हुन्छ, यो सामथ्र्य कवि प्रकाशमा पर्याप्त पाइन्छ । उनका प्रकाशित तीनवटा खण्डकाव्यले नेपाली साहित्यको खण्डकाव्य लेखन इतिहासमा प्रभावी ठाउँ छाडेका छन् । कवि प्रकाशजी र उनका सरल काव्यप्रति हार्दिक नमन !
