‘माटो’

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

पाऔंला धनमान-शान-पदवी,माटो कहां पाउंला ।
पाऔंला बल-बुद्बि-शीप-करुणा,माटो कहां पाउंला ।
पाऔंला परिवार हार-मणि या,माटो कहां पाउंला ।
पाऔंला घरद्वार भार-भरिया-माटो कहां पाउंला ।।

ज्युदै स्वर्ग म जाउंला सुयशले,माटो कहां पाउंला ।
पाऔंला वरदान मान ममता,माटो कहां पाउंला ।
पाऔंला मणिलोक सौख्यसुख या,माटो कहां पाउंला।
आंखा-कान-अपान पाउं तर यो,माटो कहां पाउंला ।।

 

स्वर्गैमा गइदेव पूजन गरे,पाइन्छ माटो कहां ।
ब्रम्हा-विष्णु-महेन्द्रले वरदिंदा, पाइन्छ माटो कहां ।
लाखौं प्राण गरौं समर्पण अझै,पाइन्छ माटो कहां ।
लाखौं अर्व गरेर खर्च पनि यो,पाइन्छ माटो कहां ।।

तारा-सूर्य र चन्द्रमा हरिबिना,बांच्नेछुं बांच्नेछुं म ।
भोको प्यास फकीर वैभव विना,बाच्नेछुं बाच्नेछुं म ।
एक्लोभै सुत-दार बान्धव बिना,बांच्नेछुं बांच्नेछुं म ।
नाङ्गो बस्त्रबिहीन दीनपनमा,बांच्नेछुं बांच्नेछूं म ।।

मेरो श्वासप्रश्वास स्पन्दन मुटू,नेपालले चाल्दछ ।
मेरो रक्त तदुक्तचालन क्रिया,नेपालले चाल्दछ ।
नाडी अंग तदंगसंग सबमा,नेपालकै रंगछ ।
आंखा देख्दछ कर्ण सुन्दछ सधैं , नेपालकै ढङ्गछ ।

खाऔं व्यञ्जन खीर पायसहरू, नेपालकै अन्नले ।
लाऔं सुन्दर हार भूषणहरू,नेपालकै कन्दले ।
गाऔं सुन्दर कर्णप्रिय कविता,नेपालकै छन्दले ।
धाऔं धावनमार्ग नै विकट होस,नेपालकै ढङ्गले ।।

यी प्यारा त्रयशव्दका सरि कुनै,लाग्दैन मीठो अरू ।
यस्कैसाथ लुटीपुटी गरिरहौं, बांचौं म यद्वा मरू ।
चाहिन्नन् अमरावती सुख कुनै; नेपाल पाए भयो ।
मेरा प्राणपखेरूको धुकधुकी,नेपाल मात्रै रह्यो ।

सुम्पे पूर्वजले मलाइ धरणी,नांसो दिए जिन्दगी ।
मेरो अन्तिम श्वाससम्म शिरमा,बोक्नेछुं यो बन्धकी।
आकांक्षा र अभीष्टि राख्दछु यहीॅ, नेपाल बांची रहोस।
मर्दासाथ रहोस् मशानसंगमा,नेपाल नाची रहोस ।

छाती चर्रचिरेर हेर्नु छ भने,हेरे भयो चिर्दछु ।
छाला स्वात्त झिकेर हेर्नु छ भने,हेरे भयो भिर्दछू ।
मेरा रोम र स्नायु वायुहरुमा,नेपालकै रङ्गछ ।
देखाऔं किन नृत्य नर्तकहुॅदै ,भित्रै सबै बन्दछ ।।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *