भावना न्यौपानेका केही मुक्तकहरू

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

जिन्दगीको दोबाटोमा काव्य यात्रा चम्किरहोस्
संगीतको धुन बनी यो जिन्दगी लम्किरहोस्
फूल बनी फुल्न सकू साहित्यको बागभरी
झरनाको झंकार झैँ यो जिन्दगी गम्किरहोस् !!

कृष्ण तिम्रो शरण छु पाउ तिमै परेकी छु
दिन रात तिम्रै ध्यान जप तप गरेकी छु
तिमी बिना छैन संसार तिमी जीवन दाता
बाचुन्जेल तिम्रै भक्ति तिम्रै पूजा गरेकी छु !!

 

सबैको शुभेच्छुक हुँ आउँदैछु राजधानी
भावनाको ज्योतिले म छाँउदैछु राजधानी
भेट्नेछु मेरा शुभ चिन्तकहरुलाई त्यहाँ
त्यसैले त बार बार धाउँदैछु राजधानी !!

सेतो पनि कालो हुन्छ आँखाहरु दोषी भए
दृष्टि भरी जालो हुन्छ आँखाहरु दोषी भए !!
मन वचन र कर्म शुद्ध राख्दै जानुपर्छ
नत्र सधै टालो हुन्छ आँखाहरु दोषी भए !!

आफू सत्यमा हिड्दै थिए साँच्चै राम पाँए ॐ
साक्षातकार पाए पछि उहीँ मात्रै धाँए ॐ
उन्कै भक्त बन्दै जीवन समर्पण गर्दैछु
पल पल राम ॐ भज्दै उन्कै गीत गाँए ॐ !!

सँधै भरी मेरो प्राण यै माटोमा बाँचिरहोस्
एक मुठ्ठी स्वास बोकी यै माटोमा हाँसिरहोस्
जन्म भूमि दुखेकी छन् सन्तानको लडाइँले
चढाउने रगत यो शरीरमा नाँचिरहोस् !!

मेची जाऊँ काली जाऊँ जहाँ जाऊँ रम्दै बाचूँ
भिर पाखा पखेरामा गीत कोर्दै सधैं नाँचू
यादगार यी यात्राले मेरो मुटु प्रफुल्ल छ
स्मृतिको रेखा कोरी यै मस्तिष्कमा सँधै टाँसू !!

मलाई यीनै दृश्य प्यारो लाग्छन् म यहीँ रमाऊँ
आफ्नै देशका छहरा र पहराको म गीत गाऊँ
कस्तुरी ,तुलसी,र चिराइतो खाई ओखती
म यो मेरो नेपाली जीवन यहीँ नै बचाऊँ !!

न त हर्ष न विस्मात नाटकीय दुनियाँमा
एक्लिन्छु म अकस्मात नाटकीय दुनियाँमा !
सरलताले जिउन खोज्नु मेरो रहर हो
अर्कै पो रैछ जमात नाटकीय दुनियाँमा !!

भावना न्यौपाने दाङ

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *