ढल्दै बैश उमेर गा’छ अबता साच्चै उदो लौ उदो
के आशा अब बैशसंग लिनुखै बन्दैछु अस्ताउदो
आँखाको रहमा थियो तरल यो छल्केर झर्दै गयो
मोतीझै झरँदा भएर झरना आधा जवानी भयो ।१।
नाडी गल्छ र पाखुरी सिथिलभैँ थाक्छन् उसै आखिर
काप्छन् बेकसुरै दुबै चरण खै काप्दैछ गोर्खे शिर
पैताला गलदै छ मासुम हुदै ऐसास बढ्दै गयो
मेरो लाग्छ कतै कतै त अबता आधा जवानी भयो ।२।
छाला चाउरिदा नि छैन मनमा ऐसास बृद्धा भनि
ऐले सम्म छु है जवान भनि लौ भन्दैछ आत्मा पनि
आखा यो धमिलो हुदै छ अनि खै जिब्रो लठेप्री गयो
भन्छन् आखिर ईष्ट मित्र पनि लौ आधा जवानी भयो ।३।
बत्तिसौ ऋतुको लिएछु रसपान् त्यस्तै बशन्तीहरू
काँ काँ खै कति के गरेर हिडियो था’छैन जम्मै अरू
जे जे भो हरि जिन्दगी म जिउदा त्यो सम्झनामा रयो
अद्वैशे म भएछु लौन अबता आधा जवानी भयो ।४।
डाँडाको रवि पो भनेर भनिदा दाजेर ऐले यहाँ
भक्कानिन्छ बरै रूदै दिल यसै दुख्दै कहाँ हो कहाँ
कस्तो बालपना गयो नि नबुझी कस्तो किशोरा गयो
केही कर्म कतै बुझेर नगरी आधा जवानी भयो ।५।
इलामेली टीकाराम दुलाल
२०७३।११।२० रोज ६ नक्साल, काठमाडौँ ।
