श्रीसूक्तः तिमी आऊ हाम्रो घर

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

सुनारङ्गी सारी अति हृदयहारी फरफर
सुनैको मालामा रजत मिसिएको लरबर
शरज्ज्योत्स्ना जस्ती विमल सुन जस्ती भरभर
रमालाई ल्याऊ श्रुतिवदन हे अग्नि अमर !

छिटो बोलाऊ हे अनल ! अब लक्ष्मीकन तिमी
उनैको नै आवाहन गरिरहोस् यो मन पनि
सदा सक्तो सेवा गरिकन म पाऊँ अविचल
कयौं छोरा छोरी, कनक, सुरभी, अश्व असल

 

कुदेका छन् घोडा पछि पछि कुदाई रथ पनि
बसेकी छ्यौ सोही उपर सुखका साथ जननी
यता हात्ती गर्छन् हिनहिन, जगत् हुन्छ मुदित
तिमी आऊ हाम्रो घर छ, बस, आनन्दसहित

कुनै छिन् हाँसेकी मुसुमुसु, सुनौला भवनकी
बलेकी चम्केकी नवजलपरी हुन् कि सुनकी
बसेकी फक्रेको कमलदलमा पद्मवदना
म बोलाऊँ त्यस्तीकन धन भराऊँ भवनमा

जुनेली झैं राम्री विमल यशले सज्जित हुँदी
सबैलाई जाती नरअमरले पूजित हुँदी
रमे ! आऊ हाम्रो घर कवि प¥यो आज शरण
सबै होऊन् मेरा असगुन र दारिद्य्र हरण

तिमी चम्केकी छ्यौ अरुण सरि आफ्नै तपसले
फलायो मज्जाले कुसुमविनुको बेल त्यसले
टिपी दाना दाना सविनय म अर्पन्छु जननी !
गरीबी मेटाऊ अनि हर हियाको बह पनि

म जम्मै द्यौताको प्रिय अनलको आदर गरूँ
मिलोस् थुप्रो हीरामणि र त्यसले यो घर भरू
म जन्मेको प्यारो अति असल नेपाल यसमा
रमाऊँ हे लक्ष्मी ! अनि जुनि बिताऊँ सुयशमा

नहोस् खाली कैल्यै पनि भवनमा अन्न र जल
गरीबीले होऊन् न त सकल जाहान विकल
अलक्ष्मीको केही अनुभव नहोस् जीवनभरि
थुपारीदेऊ हे जननि ! रुपियाँ यो घरभरि

सुगन्धी गुच्छा छन् पदकमलमा देवि कमले
दिई पैसा पुछ्र्यौ स्वजनकन पुष्टा र अचले
जगत्की मालिक्नी अनि विजयिनी हे भगवती !
मलाई सम्पत्ति प्रचुर गरिदेऊ, छ विनति

मिलोस् तिम्रो आशीर्वचन, मनको वाञ्छित पुगोस्
मिठो बोली पाऊँ, पशु र गहुँ जौ धान पनि होस्
भई औलादौला सबकन रिझाएर भवमा
म बाँचूँ हे आमा ! प्रथित यशसाथै विभवमा

तिमी आऊ मेरा घर बस सधैँ कर्दम ऋषि !
तिमीलाई पाएपछि त शुभलक्ष्मी पनि खुसी
झुलाएकी राम्रोसित कमलमाला गलमुनि
रमा आऊन्, हाम्रो कुल मगमगाओस् जुनि जुनि

मजाले टल्केको घर वरुणको आश्रय रही
रहू अर्का क्लीताभिध पनि यहीँ निर्भय भई
तिमी चारै छोरा बस बस र आमाकन पनि
यहीँ नै बोलाऊ अनि कुल बनाऊ अझ धनी

भिजेकी हात्तीले छरबर गराएर सलिल
पहेलो क्यै रातो वदन अथवा चन्द्र विमल
सुवर्णा चन्द्राको कुवलय गलामा अझ झुलोस्
यहाँ ल्याऊ द्यौता अनल ! उनको पोषण मिलोस्

लुछुप्पै छन् जम्मै वसन जल छर्केर गजले
बजार्ने पापीका शिरउपर डन्डा गजबले
सुवर्णा सूर्याको नवकमलमाला छ उरमा
तिनैलाई ल्याऊ अब अनल कैलास घरमा

उनै लक्ष्मी माता असल धनकी हुन् शिरभर
जसै आइन् हाम्रो घर अब नजाऊन् परपर
मिलून् गाई घोडा स्वजन अनि धेरै परिजन
म आगोका द्यौताकन हृदयले गर्छु नमन

बनी शुद्ध ध्यानी घिउ हवन गर्दै दिन दिन
जपोस् जम्मै मालासहित अघिका मन्त्र गहन
उही मान्छे भेट्ला अविचल हुने उत्तम धन
त्यसैले बेहानै उठ सुजन ! यो औसर लिन ।।

नोटः ऋग्वेदोक्त सुप्रसिद्ध श्रीसूक्तको नेपाली भावानुवाद (सोह्र मन्त्रको अनुवाद छ यहाँ, पाना खोलेर हर्नुहोस् अथवा सम्झनुहोस् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.