के सिंहदरबार मेटर्निटी अस्पताल हो?

Spread the love
deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

फेरि आयो !
दरबारले रछ्यानमा मिल्काएझैँ गरेको
पुरानो कोट टक्टक्याउँदै आयो
उही असक्षम ज्वाइँ
जसले गणतन्त्रको टाउकाको मूल्य तोक्दा
भुटेको मकै खुवाएर
ओढारमा लुकाएका थियौँ गणतन्त्रलाई
र,
प्रजातन्त्रलाई राजतन्त्रको टाट्नामा मिल्काउँदा
टाउको फुटाउँदै,
रत्नपार्कमा खोजेका थियौँ – प्रजातन्त्र
थाहा छैन, अब यो अवैध सन्तानले
कहाँ मिल्काउने हो गणतन्त्र ।

 

आज त्यही दरबारीया ज्वाइँ
अवैध सम्बन्धको तकदिरमा ल्याप्चे ठोकेर
लौनचौरबाट सिंहदरबार छिर्दा
किन ठोक्यो गणतन्त्रको भरियाले
ओहोदाको स्यालुट
पृथ्वीनारायणको औँला अगाडिको गेटमा ।

दुर्भाग्य !
कसैले बुझिदिएन
उसको जनयुद्ध सिंहदरबार उक्लिएपछि
भूतपूर्व लडाकुले किन लेख्न पुग्यो
आफ्नै रगतले सुसाइड नोट
र हस्ताक्षर गर्दै,
जनयुद्धको मृत्यु !

तर बिर्सिएन सिंहदरबारले
उहीँ मूल्यवान टाउको सँग
प्रत्येक नौ महिनामा पालैपालो
चिच्याई चिच्याई
सुहागरात मनाउन !

यहाँ कसलाई सोध्ने अवैध सन्तानको इतिहास,
जहाँ कोतपर्वबाट जन्मेको मैसासुर
१०४ वर्ष बाँचेझैँ
आफ्नै पटाङ्गिनीमा जन्मिएको
त्यो अवैध सन्तान कति समय बाँच्छ ?

अब थाहा होस्
कसरी जन्मन्छन् यहाँ अवैध सैतान
मान्छेको बाढी आउनु अघि
र, मेदान्तबाट डिएनएको रिपोर्ट आउनु अघि
कसरी बुनिन्छ यहाँ
षडयन्त्रका जाल
२४० वर्षीय राजतन्त्रको मुटु
अझै धुकधुक गरिरहेछ चिहानमा ।

ऊ अक्सिजन बोकेर
राजतन्त्रको चिहानघारी जाला
खबरदार !
चिच्याउँथ्यो होला
सहिदको सालिक
मुखमा जिब्रो राखिदिएको भए !

हामीलाई जवाफ चाहिएको छ
के सिंहदरबार अवैध सन्तान जन्माउने मेटर्निटी अस्पताल हो ?

Deepak Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *