जन्मे जसै अवनिमा कवि लेखनाथ
लालित्यको लय मिल्यो कलकण्ठसाथ
ब्यूँझेर शुक्ल सरितासित पोखरामा
चम्के उनै त(अ)रुण झैं तपसी धरामा १
ल्याएर बौद्धिक छटा सम बालकृष्ण
नाट्याभिधानसित काव्य दिनै सतृष्ण
भर्थे यहीं ललित शिल्प उनै अनन्य
उक्ल्यो हिमालतिर झैं स्तर धन्य धन्य २
आए महाकवि विराट् प्रतिभा विशेष
लक्ष्मीप्रसाद, जसबाट छ धन्य देश
भाका मुनामदनको जसले छरेका
शाकुन्तलादि रचनासित सम्झिएका ३
यी हुन् त्रिमूर्ति, जसको महिमा सुरम्य
आकाशमा फरफराउँछ कल्पसम्म
देखिन्छ त्यो नव हिरण्मय ज्योति तुल्य
मानौं त्रिसूर्य गगनाञ्चलमा झलल्ल ४
अर्का थिए कवि कुनै सुकुमार चित्त
मायालु सिद्धिचरण प्रतिभा प्रसिद्ध
के उर्वशीसित उनै मिसिई अचम्म
आउन्न याद कविताभरि झम्मझम्म ५
गोमा थिइन् मधुरभावमयी उदार
स्वच्छन्दता रस बगाउनमा तयार
नारी अहो ! कवि निरन्तर शारदामा
झल्काउने कविकला बहले छुँदामा ६
बिर्सिन्न भीमनिधिको यश जो अनल्प
मीठा सयौं गजल, नाटक, काव्य शिल्प
सामान्य शब्द तर भाव बडो सुरम्य
साहित्यको सरसतासित तारतम्य ७
हुन् भिक्षु भव्य गतिमा सृजना सुमर्ने
छाया मिलाइकन चित्रण भव्य गर्ने
त्यस्तो कवित्व पनि लौकिक बन्छ वाणी
हुन् भाग्यवान् अवधभाषिक ती भवानी ८
गोपाल नामक थिए प्रतिभा रिमाल
मानौं हिमालय समान उचा कमाल
बेजोड गद्यकवितासित ब्यूँझिए झैं
नेपालले नवयुगी बिपना लिए झैं ९
अर्का त्रिमूर्ति झलमल्ल छिमेकबाट
आए स्वदेशकन भर्न अदम्य आँट
भाषा बचाउन गरे उनले प्रकाश
त्यो कर्मको म जय गाउँछु एकनास १०
के सूधपा सुरधुनी सरि सल्ल सल्ल
आएर भूतल भएन र स्वर्ग तुल्य
बस्दै प्रवासतिर बन्नु स्वदेश भक्त
ठूलो कुरा, अझ महान् रचनानुरक्त ११
श्री सूर्यविक्रमसितै नव गद्य तत्त्व
नैवेद्य साथ धरणीधरको कवित्व
क्या स्वाद पारसमणि प्रतिभा खुलस्त
कैल्यै हुँदैन यिनको अवदान अस्त १२
शिक्षा र चेत दरिलो नहुँदा समाज
भाँडिन्छ, संस्कृति हराउँछ, जान्छ लाज
त्यो रोक्न हो कि जसरी नयराज पन्त
आई खुल्यो हिउँदमा कि नयाँ वसन्त १३
केदारमान कवि उत्तम काव्य सार
बोकेर ल्याउन थिए जहिल्यै तयार
छाया र वस्तुसित वास्तव मेल ल्याई
गर्दै रहेर उनकी छवि जुर्मुराई १४
झुर्लुक्क राष्ट्रकवि माधव झुल्किएर
बग्दै रह्यो प्रकृति नै कविता भएर
त्यो देखियो भुलभुले छहरा बगे झैं
गौरी लिएर शिवले घरमा लगे झैं १५
चर्का थिए हृदयचन्द्र उनै प्रधान
पैल्याउने प्रगतिका कविता विधान
युद्धप्रसाद पनि के कम सो विधामा
लेख्थे सुरम्य रचना पिरले छुँदामा १६
डिट्ठा थिए तनहुँमा अघि श्रीप्रसाद
गर्थे सुरम्य कविता, अनुवाद याद
मीठो थियो बहुत नाटक जो सुदामा
पढ्थे बसेर घरमा पनि बाबुआमा १७
अर्का मुरारि पनि लायक काव्यकार
आएर पूर्वतिरबाट भरे बजार
प्राचीन नव्य दुइटैतिर चल्छ आँखा
आफै त हुन् कवि नहुन् कसरी चनाखा ? १८
फेरि त्रिमूर्ति रचनाचलमा उदाए
आयाम तीनसित नूतन धार ल्याए
राई र बल्लभ भए अनि काइँलामा
आउन्न के लहर झैं गिरिका शिलामा १९
के सिन्धुलीतिर कुनै कवि सिन्धुलीय
जन्मेर सिर्जन भएन र अर्हणीय ?
लेखे सुचारु रचना मकवानबाला
नारी महत्त्व अघि सार्न छ यो निराला २०
साहित्यका थरिथरी स्तर उठ्न थाले
भूपी उठेर कवितासित जुट्न थाले
हामी भनेर युगमाथि दिए झटारो
घुम्ने छ मेच तर हाकिम अन्ध सारो २१
लेख्थे महेन्द्र अति भावुकता लिएर
अन्तर्मुखी विरहका पनि गीत धेर
बल्थ्यो अझै कलम राष्ट्रियता दियामा
झल्काउँदै मुलुक मात्र हिया हियामा २२
पोख्ने अरू पनि भए कविता प्रवाह
ज्ञानेन्द्र शाह अनि एक रवीन्द्र शाह
त्यस्तै लता सरि यता महिला रमोला
के चाँदनीकन भुलेर भुलिन्छ होला ? २३
अर्का भए विजय मल्ल प्रयोगधार
जो मानचित्रसित खेल्न थिए तयार
लेखेर नाटक, कथा पनि जोडदार
रूढी विचारसित जुध्न सदा तयार २४
आए यहीँ अगमसिंह गिरी अनन्य
भाषा र भावसित दार्जिलिङाभिजन्य
विद्रोह युक्त हरिभक्त त्यतै उदाए
आसामबाट कविता र कथा बगाए २५
शास्त्रीय भावसित माधव पालपाका
फैलाउँथे कविकला अतिसार पाका
हुस्सूहरूकन दिए उनले झटारो
के जिन्दगी नबुझिए पछि हुन्न गाह्रो ? २६
छोरा थिए कुलमणि प्रिय वंशसूत्र
जस्तो जनार्दन थिए समका सुपुत्र
लेख्थे दुवै जन यिनी कविता उपल्ला
सन्तान योग्य हुनुपर्छ र नाम चल्ला २७
बेजोड हुन् भरतराज, लिएर छन्द
गर्थे सुगद्यकविको पनि ओठ बन्द
दोभान सुन्दर भयो तर जूनकीरी
आफू ठिकै तदपि भाव थियो अमीरी २८
अर्का थिए कवि महान् गुणराज उम्दा
रामायणी प्रियकथासित नित्य ज्यूँदा
त्यस्तो बृहत् छ प्रतिभा अनि शिल्प चारु
सन्तानमा बनिरहेछ उही फुलारु २९
अर्की विराट् सृजनकी जनकी जुहार
हुन् पारिजात अति उत्तम काव्यकार
आख्यानमा अझ गुणस्तर हो कि माथि
अस्तित्वमा गहन शिल्पछटा समाती ३०
लेख्थे सधैं मदनले कविता सुरम्य
झन् तीव्र वासु शशिका रचना सुगम्य
आएपछि प्रखर मोहन कोइराला
स्वच्छन्द सुन्दर बन्यो इतिहासमाला ३१
आए मुकुन्दशरणाभिध काव्यकार
शास्त्रीय छन्द उनको मनको जुहार
साहित्यतत्त्वसँग जान सधैँ तयार
बेजोड राष्ट्रिय अहंसित साधिकार ३२
आए रमेश खकुरेल सदा उदार
छन्दोमयी सरस सिर्जनका जुहार
जे छोइँदा पनि तरङ्गित हुन्छ देही
विद्युत् प्रवाह सरि ज्योति दिएर केही ३३
शास्त्री भए हरिहराभिध काव्यकार
लेख्ने मनोज्ञ कविता पनि बारबार
कृष्णप्रसाद थरबाट पराजुली हुन्
भाषा सुकोमल दिने कविजी उनी हुन् ३४
के धर्मराज कवि गायक गीतकार
बिर्सेर बिर्सन सकिन्छ बडो उदार ?
नेपालका विविध खण्ड घुमेर खेली
पैल्याउने लय र सिर्जनका तरेली ३५
क्रमशः
