सेता शान्त हिमालमा समरको पोतिन्छ कालो किन ?
ज्ञानी गौतम बुद्धको सह लुटी च्यातिन्छ टालो किन ?
हुन्छन् अंशु-हिमांशु उज्वल भने झण्डा झुकेको किन ?
हुन्नन् भौतिक वस्तुमा मन भने माटो दुखेको किन ?
कर्णाली तट-छेउका उदरमा निष्प्राण छन् जीवन
मर्छन् दैनिक गण्डकी बगरमा सिद्धार्थ, शुद्धोदन
मातेका तटबन्धले जल थुनी हाँसो लुटेको किन ?
बन्थ्यो हर्षित बाँधमै जल भने कोसी फुटेको किन ?
थप्दैछन् इतिहासका हरफले मान्छे मरेका कथा
हेर्छन् मूक निरीह सालिकहरू जल्दै गरेका प्रथा
घुम्ने मेच समाउँदै “नमन”का जत्था कुदेका किन ?
हुन्छन् हिंस्रक जन्तु-राक्षस भने मान्छे जुधेका किन ?
खुम्ची यौवन लोकतन्त्र शिशु झैं खेल्दै छ डन्डीबियो
जुध्छन् गोरु खलो चिरी ! उपरमा ढल्दै छ थाम्ने मियो
शैली मास्न विदेशकै विरसिलो आँधी चलेको किन ?
पुग्नै-पर्छ उचाइमा शिर भने आस्था ढलेको किन ?
लप्सी झैं किन चिप्लिए स्वरहरू, उन्मत्त नाराहरू ?
पानी छैन, विधान छैन ! रणले छन् शुष्क “धाराहरू”
सीमास्तम्भ ढलाउँदै पतनका खाल्डा खनेका किन ?
फेरिन्थ्यो दरबारले युग भने छाप्रा बनेका किन ?
आँखा छन् धृतराष्ट्रका सरि यहाँ साम्राज्यको लालस
निद्राका लत कुम्भकर्ण-सरिका ! छन् पेटमा राक्षस
मेटिन्छन् “अभिमन्युका यश” भने उत्सर्ग गर्ने किन ?
गान्धारी-सरि नेत्र छोप्नु छ भने शृङ्गार भर्ने किन ?
आशा, भूत-भविष्य अन्ध ! अडिने आधार नै अन्ध छ
“धारा” बन्द, विधान बन्द छ यहाँ नेपाल नै “बन्द” छ
थापी बिस्कुन लोकतन्त्र दिउसै निर्वस्त्र बन्ने किन ?
बण्डापत्र गरेर कोख ! “जननी नेपाल” भन्ने किन ?
