‘‘म मूला हूँ’’

Spread the love
Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल, pallawa. पल्लव

दुर्गाप्रसाद पोख्रेल

म मूला हूँ
बारीबाट उखालिएको
पानीले पखालिएको
अनि कराहीमा हालिएको ।

म कुनै समाजमा छैन
म कुनै कामकाजमा छैन
म कुनै लोकलाजमा छैन
म मूला
बारीबाट उखालिएको
पधेरानेर ढालिएको
अनि गुन्द्रुकसँग गालिएको ।

 

तिमी उखाल मलाई
तिमी पखाल मलाई
तिमी उचाल मलाई
तिमी पछार मलाई
तिमी जे मन लाग्छ त्यही गर
म मूला न हूँ
तरकारी मान
वा सरकारी ठान
नून चूकले बाँध
वा गुन्द्रुकले खाँद
मेरो केही गुनासो छैन
मलाई केही कुराको चासो छैन ।

न मसँग मेरो जीवन छ
न मसँग मेरो यौवन छ
न अघिबढ्ने कुनै सपना छ
न स्वाभिमानी कुनै आफ्नोपना छ
म मूला न हूँ मूला
बारीबाट उखालिएको
झोलमा हालिएको
चौटा भनेर फालिएको ।।

दुर्गाप्रसाद पोख्रेल
८ अप्रिल २०१३ लण्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *