तिम्रो वगैँचामा अनि त्यहाँका
प्रत्येक काँडामूखी फूलका
हरेक बिम्बहरूमा लटरम्म भएर
म फक्रिएकी थिएँ ।
अरू फूल झैँ म फुलिरहेको थिएँ,
मसित भमरा लोभ्याउने सुवास थिए,
र लठ्ठ मधुमासहरू थिए ।
अनि
जसरी उषाका किरण झैँ
मेरा सौन्दर्यहरू विकसित हुँदै थिए
र म केवल तिम्रै लागि फक्रि रहेएको थिएँ,
हुन त म तिम्रो प्रेमिल मन–मन्दिरमा पुजिन नसुँला
अनि तिम्रा ती मायालु नयनमा अटाउन पनि नसकुँला
तर तिम्रो त्यो वगैँचाको सौन्दर्यताको शोभा भएकै थिएँ ।
त्यसैले म तिमी प्रति लालायित थिए र हाँसेकै थिएँ,
प्रत्येक फूलहरूका पात पातमा चलेका
हावाका लहर र झोकाहरूसित लहरिए कै थिएँ ।
तर तिमीले त्यसतर्फ कुनै शोच नै देखाएनौ
र आफैँ माली बनेर वाह्य वगैँचा सजाउने
अनि त्यतैका फूलसँग रमाउने गरिरह्यौ ।
त्यो अभेद्य शृङखलाको पात्र तिमी हौ फगत तिमी,
म हेरिरहेँ, तिमी छुट्टै वगैँचाको कोपिला चुम्न पुग्यौ
नयाँ स्वादको नदीमा बह्यौ
अनि
म निसासिएँ केवल विश्वासघातको बाढीभित्र
र कता कता तिमी त्यहीँ चिच्याइरहे छौ ।
म भने फुलिरहेको थिएँ
फक्रिरहेको थिएँ गौरवान्वित थिएँ
तिम्रो आशा र भरोसामा
फगत तिम्रो वगैँचामा
तिम्रै वगैचामा रहेका
तिनै बिम्बहरूमा लटरम्म भएर
म फक्रिएकी थिएँ,
म फक्रिएकी थिएँ ।।
सानु शर्मा
काठमाडौँ ।
