“खबरदार !मृत्युका व्यापारीहरू”

Himalchandra, Baral, Abishranta, Akrajaya, Yatree, Yatri, Ytry, हिमालचन्द्र अविश्रान्त,  pallawa, पल्लव

हिमालचन्द्र ‘अविश्रान्त’

“खबरदार !मृत्युका व्यापारीहरू”
गतिका विरोधीहरु
इतिहासको मृत्युको घोषणा गरिरहेछन्
इतिहासको यो कस्तो भद्दा मजाक हो ?
धोकाको खुनी तरबारधारीहरु
विश्वासको मृत्युको घोषणा गर्न उत्ताउलिएकाछन्
जीवनको कति घीनलाग्दो उपहास हो ?
विषाक्त घृणाको व्यापारीहरु
प्रेमको मृत्युको घोषणा गर्न उत्साहित छन्
अस्तित्वको सत्तामाथि यो कति कुरुप ठट्टा हो ?
यथास्थितिको जुठेल्नुमा रमाएका झिङ्गाहरू
सपनाको मृत्युको घोषणा गर्न लालयित छन्
चेतनाविरुद्ध यो कस्तो राक्षसी अट्टहास हो ?

 


उद्धेश्यको चिर दुश्मनहरु
विचारको मृत्युको घोषणा गर्न तम्सिदैछन्
मस्तिष्कविरुद्ध यो कति कायरतापूर्ण आक्रमण हो ?
अन्धकारको भूतबँगलामा निद्रामस्त लाटोकोसेराहरू
उज्यालोको मृत्युको घोषणा गर्न आतुर छन्
आशाको घाम छेक्ने यो कस्तो दुस्साहस हो ?
साबधान !आतँकको मसानघाटमा बसेर
जीवनको सर्वोच्चताको घाँटी निचोर्न खोज्ने जल्लादहरू
जबसम्म हुँदैन समयको मृत्यु
तबसम्म अस्तित्वको ब्रम्हाण्डकोशमा
मृत्युको कुनै अस्तित्व हुनेछैन
मृत्युको अर्थ जीवनको नवरूपान्तरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.