रमेश पोखरेलका केही मुक्तकहरूः

Spread the love
Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

संसार, देखावटी आकृतिका बुट्टाले थामेको हुन्छ
संसार, विश्वास भित्र लुकेका झुट्टाले थामेको हुन्छ
कोही अरुले उचाल्दैमा, फुरुक्क र जुरुक्क नहुनू
किनकी आफ्नो ज्यान आफ्नै खुट्टाले थामेको हुन्छ ।

घरमा ताल्चा ठोकेर भेट्न आउँथें
हातमा गुलाफ बोकेर भेट्न आउँथें
यदि तिम्रो निम्ता हुँदो थ्यो त मलाई
समयको रफ्तार रोकेर भेट्न आउँथें ।

 

मान्छौ ? तिमीलाई मेरो जात बनाउँछु
हेर ! औंसीलाई जुनेली रात बनाउँछु
भन्छौ भने असम्भव छैन केही मलाई,
मुक्तक मात्र होइन, मुक्तिनाथ बनाउँछु ।

प्रत्येक साँझ तिम्रै यादमा हराउँछ अरे
झस्किएर तिम्रै नाम लिँदै कराउँछ अरे
मुटु बेची उनलाई गुन चुकाउँछु भन्थ्यो
मेरो साथीले तिमीलाई मन पराउँछ अरे ।

खान नपाउँदा सार्‍है छ्ट्पटी हुन्छ
अली धेरै खायो भने खट्पटी हुन्छ
हाँसेरै टार्ने गर्छु बाहिरी संसारलाई,
अन्तर मनमा सदैव कट्कटी हुन्छ ।

रमेश पोखरेल,
खोटाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *