तारानाथ भण्डारीका एकजोर गजल

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

बहरबद्ध गजल
प्रियाले मलाई टिपिन् फूल ठानी ।
जसै मुस्कुराएँ म जानी नजानी ।।

लिइन् रूप नौला हजारौं हजार ।
शशी उर्वशीको समेटी जवानी ।।

अहो रूप रानी छुँदा दाग लाग्ला ।
दिलै कम्प पार्ने तिमीमा छ बानी ।।

 

शरद् पूर्णिमाले सिँगारेर त्यो मन् ।
कस्यौ मेनकाको बनाई सिरानी ।।

नजरका तिरैले बिछ्याएर पाशो ।
पर्यो माछि जाल्मा कठै हार मानी ।।

डुलेका डुल्यै छन् सिकारी वनैमा ।
जलाई रहन्छन् पुराना निशानी ।।

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारीव मुसम्मन् सालिम
रुक्नः फऊलुन्, फऊलुन्, फऊलुन्, फऊलुन्
सूत्रः ISS ISS ISS ISS

गजल
हँसाऊँ रुनुको साटो कर्मनिष्ठ स्वयं बनी ।
मेटौं विस्मातको टाटो कर्मनिष्ठ स्वयं बनी ।।

भाग्यदाता स्वयं बन्नुपर्छ नित्य निरन्तर ।
भिजाऊँ देशको माटो कर्मनिष्ठ स्वयं बनी ।।

छैनन् कोही यहाँ दाता प्रारब्ध दिन्छ जे पनि ।
पुण्य या पापको भाटो कर्मनिष्ठ स्वयं बनी ।।

स्वार्थ लोलुपको नाता पिंजडा तुल्य जिन्दगी ।
हटाऊँ लोभको पाटो कर्मनिष्ठ स्वयं बनी ।।

जन्मभूमि सिँगारेर पार्नुपर्छ हराभरा ।
मज्जाले खाँउला आटो कर्मनिष्ठ स्वयं बनी ।।

गन्तव्य सबको एकै ढिलो-चाडो कसैगरी ।
मोक्ष या नर्कको बाटो कर्मनिष्ठ स्वयं बनी ।।

मान्छे भित्रै ठुला-साना अहंकार हटाउन ।
मिटाऊँ स्थूलको खाटो कर्मनिष्ठ स्वयं बनी ।।

तारानाथ भण्डारी, Taranath Bhandari ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *