कुलगौरव सार् अब रौरवमा

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा,  pallawa, पल्लव

मुकुन्द शर्मा

थपिदे पतनालयमा तँ तला
गरिदे मदिरालयमा सुकला
गइनस् तँ इमान जमानतिर
न पढाइ न नीतिविधानतिर ।

तँ डुबिस् बरु खान र लाउनमा
निमुखासित धाक जमाउनमा
जनता र जनार्दन फाल्न हिँडिस्
कति मानिस मन्दिर ढाल्न हिँडिस् ।

 

इतिहास सुचारु खसाल्न हिँडिस्
शठको बरु रीति बसाल्न हिँडिस्
यतिमै त भयो जति उन्नति हो
यति गर्न सकिस् कति हो कति भो ।

सब लाज तजेर मजा तँ लिइस्
अझ खान परे घर लुट्न गइस्
थुतुनो छ यहाँ पद अक्षर छन्
सब भाषण सुन्न लठिङ्गर छन् ।

अपराध मनोहर भो भनिदे
असुरालय मन्दिर भो भनिदे
ढलको भल निर्मल हो भनिदे
गतिलो कविता छल हो भनिदे ।

बकिदे पृथिवीभरिमा म महान्
अखबार तँ किन् अनि पुच्छर तान्
खल तस्करमा अझ गाँसिन जा
परको पदमा अझ टाँसिन जा ।

अझ बेकुफ बन् कटु कूट तँ बोल्
कि हलाहल घोल् सब सत्य तँ पोल्
मिसिईकन कंस कि कौरवमा
कुलगौरव सार् अब रौरवमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *