जहाँ आमाहरु छोराछोरी हैन
यूरोप अमेरिका र क्यानडाको पि आरको सपना सजाएका
एनआरएनहरु जन्माउँछन
जहाँ भूपिका चोक र गल्लीहरुमा
उत्तरआधुनिक रोग भोक र शोक सग्बगाउँछन्
जहाँ अविश्वासको रिमोटले
चल्छन् सम्बन्धका च्यानलहरु
जहाँ बिनायो बाँसुरी र सारँगीहरु
उपेक्षाको टापुमा
विरही राग अलाप्छन्
जहाँ कानून अन्धो मात्र होइन
एकसाथ बहिरो र लाटो पनि छ–
जहाँ मान्छेहरुको जँगलमा
मान्छे मान्छेकै शिकार गर्छन्
जहाँ प्रत्येक बिहान
सुन्दर भोलिको चिहान बनेर आउँछ
जहाँ मन्दिरहरुमा
आस्था हैन सौदेबाजहरुको भीड लाग्छ
जहाँ कसैलाई कसैको भर छैन
त्यसैले सबैलाई सबैको डर छ
त्यहाँ सुकुमारी पूर्णचन्द्रिका हाँसेको रात
दिनभर मानवअधिकारको शूत्र घोक्ने बज्रस्वाँठले
कुनै लाचार लछमनियालाई बलात्कार गर्दा
उसको बाबुलाई कसरी भनूँ
तिमी कुनै सूर्ता नगर
कसरी भनूँ विद्रोह बञ्चरो नउठाउ
कसरी पढाउँ अहिँसाको पाठ
र भनूँ उसको भाग्य नै त्यस्तै
तर धैर्य गर
एक दिन सत्यको जित हुन्छ भनेर !
हिमालचन्द्र बराल/अविश्रान्त अपराजेय यात्री
