यो कस्तो क्षण हो जहाँ मनुजका आस्थाहरू भग्न छन्
यात्रा जोखिमपूर्ण छन् र तिनमा अन्योल संलग्न छन्
हाँसोका बिच आँसु बग्छ मिसिए मानौ पुवा बालुवा
मान्छेको अनुहारबाट कसरी पैल्याउने मन्सुवा ?
निष्ठामा पहिरो गयो कि किन हो मान्छे सधैं धर्मर
आफू नै पुरिएर विक्षत बनी निस्क्यो कि झैं बाहिर
कोही छन् हठमा निमग्न शठ झैं भैरे भएका जन
आफ्नै गौरव बिर्सिएर अहिले जैरे भएका किन ?
यात्री अल्ल न मल्ल छन् सडकमा जाने कहाँ हो भनी ?
ठूला मानिस छन् सहायक भनी ढुक्कै भएनन् तिनी
यो हाम्रो परिवेषमा अझ उनै आएर रोडा हुने
उक्ली जानु छ माथि किन्तु अहिले छेकेर गोडा थुने
संसारैभर घन्किँदो छ अहिले विज्ञानको बाँसुरी
मान्छेको महिमा विसर्जित हुने आएछ पालो सरि
यस्तै आशय खोल्न हो कि बटुवा हिँड्छन् किनारातिर
जम्मै वाहन मार्गको बिचबिचै दौडेर जान्छन् पर
मेरो भोलि अवश्य चारु छ भनी चारो बटुल्दै कति
लम्कन्छन् गतिलो उपागम कथा जस्तै भजी उन्नति
त्यस्ताको पनि मार्ग नै निमिषमा बन्दैछ खाल्डो किन
भत्काएर अकालमा जिउनुका सम्पूर्ण आलम्बन
कैयौं सन्तति भड्किए दशदिशा पेशा र पैसा भनी
आफ्नो भित्र भँडारमा तर पसे नेपालकै बैगुनी
यो सुन्दा अललीरहन्छु गहका धाराहरूले रुझी
बेदागी इतिहासको वदन नै दागी भएको बुझी
खानी छन् सुनका यता अनि उता पानी छ खोलाभरि
मान्छे दौडिरहेछ अन्त, सपना बोकेर झोलाभरि
हामीले कति के गर्यौँ विगतमा फर्केर हेर्नै पर्यो
पासा पल्टिनुका अगाडि अझ झन् उत्साह भर्नै पर्यो !
त्यस्ता मानव जन्मिए जगतमा जो तीसमा पन्ध्रमा
मानौं शान्त, अगम्य धीर, युगको आकाशमा चन्द्रमा
पाएनन् जतिले अलभ्य मनको केही उज्यालो भने
ती पक्कै पनि काग, उल्लु अथवा मूसो, बिरालो बने ।।
