लत्केका छन् हजारौं जमिन—जगहरू के गरी ती पुरिन्छन् ?
भत्केका छन् हजारौं भवनघरहरू के गरी ती ठडिन्छन् ?
मर्केका छन् हजारौं करचरणहरू के गरी ती दरिन्छन् ?
चर्केका छन् हजारौं मन र मुटुहरू के गरी ती भरिन्छन् ?
खोज्दै आधार बाँच्नाकन शिवशिवको नाम मात्रै जपिन्छ
यौटा सङ्कष्ट आए पछि पनि किन हो फेरि अर्को थपिन्छ ?
खुल्ला आकाशमा छन् विचलित दुनियाँ, रातको हुन्छ बेला
हामीलाई परीक्षा लिन कि नियतिले झिक्छ यस्तो झमेला
हे बूढानीलकण्ठ प्रभु ! किन जलमा बन्दछौ लम्पसार ?
आऊ दौडेर पीडासित घुलमिल भै घाइते यी मुसार
चाँडै लौ रोकिदेऊ पटकपटकको भूमिको कम्प थर्को
सेवाको भावभन्दा भन कुन छ यहाँ मूल्यवान् वस्तु अर्को ?
हे माता देवि गुह्येश्वरि ! किन अझ त्यो गुह्यमा बस्न खोज्यौ
आफ्ना सन्तानलाई सकस अति हुँदासम्म त्यै ठाउँ रोज्यौ
चर्को भूचाल आई विचलित दुनियाँ प्यार खोजेर रुन्छन्
दुःखीको दुःख हर्ने सुकृत जनहरू काललाई उछिन्छन्
हे भोलेनाथ बाबा ! अशरण शरणापन्न नेपाल देश
तेस्रो आँखा उघारी नजर छर, यता ध्यान देऊ विशेष
तिम्री लीलानटीको किन असमयमा नृत्य आयो बताऊ
आफ्ना सन्तानलाई यदि भर नदिए बाबुको के छ भाउ
खाएथ्यौ तन्न हालाहल विष पहिले विश्वमा त्राण भर्न
आएथ्यौ नाथ ! लप्सीवन बिच उहिले प्रीति आधान गर्न
हाम्रो यो भूमिलाई प्रकृति सहचरी गर्न लागिन् प्रहार
तिम्रो त्यो नाम मृत्युञ्जय अब हुनगो भन्नका लागि क्यार
बाँचेका व्यक्ति ! आओ अब ढिल नगरी पीडितोद्धार गर्न
पाएका वस्तु बाँडी अलमल नगरी दीनमा प्यार छर्न
बल्केका घाउलाई मलहमसितका हातद्वारा मुसार
अर्काका आँसुलाई मनन जति गर्यो उत्ति पाइन्छ प्यार ।।
