तारानाथ भण्डारीको एकजोर कविता

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

छन्द स्नेह
छन्द आनन्दको साथ यो पाउँदा ।,
हर्ष यो प्रेमको चित्तमा छाउँदा ।।
कुल्चँदा कुल्चँदा छन्दको आँगनि ।
स्नेहको रापमा दन्किएँ दन्दनी ।।

छन्दकै भात होस् छन्दकै गास होस् ।
छन्दकै रात होस् छन्दकै प्रात होस् ।।
सत्यता शिष्टता नित्यता दृश्यता ।
दिब्यता भब्यता प्राप्यता द्रब्यता ।।

 

छन्दमै प्रीत होस् छन्दकै गीत होस् ।
छन्द हुन् माधुरी छन्दकै जीत होस् ।।
शुन्दरं शुन्दरं छन्द हुन् शुन्दरम् ।
स्वागतं स्वागतं छन्दमा स्वागतम् ।।

अच्युतं केशवं राम नारायणं ।
कृष्ण दामोदरं वासुदेवं हरिम् ।।
शुद्धता बुद्धता छन्द हुन् बाँसुरी ।
धैर्य हुन् शौर्य हुन् हैन है काँचुली ।।

चन्द्र झैँ टल्कियून् पूर्णिमा झल्कियून्
ज्ञानका ज्योति यी छन्दमै पल्कियून् ।।
दालमा भातमा आसमा पासमा ।
खासमा दासमा त्रासमा रागमा ।।
छन्द – स्रग्विणी ।

बेचेर स्वाधीनता,,
आयो यो कलिको कराल भुमरी छोपेर चारैतिर ।
आस्था नष्ट हुँदा उदास पनको मन्मा छ सारै पिर ।।
के लेखूँ ? भनि सोंचमग्न म बनें निंद्रा हराएपछि ।
प्यारो देश कठै ! रुँदैछ धुरुरू निष्ठा हराएपछि ।।१ ।।

तर्स्यो आज उदास त्यो दसगजा नेपाल आमा ! भनी ।
टिष्टा शान्त हुनै सकेन कहिल्यै अस्तित्व सारा गुमि ।।
दन्क्यो दन्दन काँङ्गडा झन उता देशै धुवाँलो भयो ।
कर्णाली पनि डुब्छ अश्रुदहमा सुस्ता बिरानो भयो ।।२ ।।

यो नेपाल सकेन सुत्न मजले खाडी पुर्याएपछि ।
कालो बादल गर्जिदिन्छ मनमा ज्यादै डराएपछि ।।
आँखा चिम्म हुँदैन एक पल-लौ झण्डा झुकाएएपछि ।
दुब्लार्इन् अति पातली हुन गइन् घाँटी समाए पछि ।।३ ।।

रुन्छन् दूर-दराजबाट-जनता नेपाल सम्झेपछि ।
गुन्दा खर्ब पुगेछ भार ऋणको खाता नियालेपछि ।।
उठ्ला देश कसोरी राष्ट्र हितमा भाषा बिगारेपछि ।
सच्चा वीर-सपूतका हृदयमा भाला घुसारेएपछि ।।४ ।।

उर्ल्यो भेल अथाह आज गहमा मेची र काली बनी ।
खाडीमा तररर्र बग्छ पसिना छोरा र छोरी भनी ।।
आधा देश रुँदैछ दूर हुन गै हर्दम् पराधीनता ।
प्यारो देश हिमाल हाँस्छ कसरी बेचेर स्वाधीनता ।।५ ।।

छन्द-शार्दूलविक्रीडित ।
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *