श्वान-हनुमान लीला !

Spread the love
Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल !
तेरो विगत दु:स्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरूकै हो नेपाल !

 

भयो पुर्पुरोमा जनको
बाढी-पहिरो औ अनिकाल
केही तैंले पनि दे भाइ
फैला पूरै भाषण-जाल !

गुलियो चट्ट चटाउँदै
ख्वाउनुपर्दछ मीठो माल
मासु-चोक्टा नहोस् न बरु
हाडका टुक्राहरू नै फाल् !

मीठा सपना बाँड्दै गर्नू
कोही गर्छ भने बबाल
सिक्री खोलिदिउँला भाइ
टोक्ने विदेशी कुकुर पाल् !

सुक्छ सुकोस् यो मेची-काली
सगरमाथा होस् पाताल
आलोचना र दोषारोपण
मात्र शत्रुहरूको चाल !

विपक्षीलाई देखाउँला
बन् तँ हाम्रो बलियो ढाल
चुनाब हामी जिताउँला
चाहिए खै बन्दुक-नाल !

ढुकुटी सबै रित्याएछस्
हाम्रो झोलीमा पनि हाल्
अनि हेर्नू तँ हाम्रो शक्ति
बनाइदिउँला धर्ती लाल !

सोझो गरी घिउ निस्कन्न
पार्नै पर्दछ बाङ्गो चाल
ढुक्कैसँग भन् तेरो सत्ता
नेपालकै हो स्वर्णिमकाल !

श्वान-हनुमान्बाटै मिल्ने
सत्ताको यो स्वाद कमाल
गिदी नदुखा स्वाँठे ‘पट्टु’
राजनीति हो इन्द्रकै जाल !

चुनावी रङ्ग-तरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *