राममणि अचार्यका एकजोर कविता

Spread the love
Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

सत्कर्म सम्पूर्ण हो !!!
सेवा भाव लिएर नै सब जुनी बित्दोछ निरन्तर ।
सोचेको विपरीत भो प्रतिफलै आश्चर्य लाग्यो तर ।।
जो जो हर्षित छन् सबै परपरै आफ्ना थिएनन् सबै ।
आफ्नाको खुश गर्न भो कठिनता सम्पुर्ण भागे परै ।।

लाग्यो यो पनि चुम्बकीय नियमै आश्चर्यमा पो परेँ ।
खौरेरै मसिनो हुदैन र दिदा आफन्त बन्दैन रे ।।
जो जो छन् नजिकै तिनै बलगरी उत्रे विपक्षी बनी ।
धोकाबाट सिकेर पाठ गतिलो चल्दैछ दैनिन्दनी ।।

 

आधा जल्दछ दाउरा जव भने अङ्गार कालो भयो ।
जल्दा पुर्ण बनेर भष्म सजिलै शिर्मा उसै शोभियो ।।
सानो भो खहरे कराउँछ निकै त्यो सागरै शान्त छ ।
त्यै गर्जन्छ नवर्सिने घनघटा बर्सन्छ जो शान्त छ ।।

विद्या छैन भने शरीर बनियो पुच्छर् छ यो श्वानको ।
झिँगा मार्छ न गुप्त अङ्ग छुपने के काम त्यो व्यर्थ भो ।।
त्यै बन्नेछ ठुलो बडो पुरुषमा आतिन्न सन्तापमा ।
जिब्रो बस्दछ दाँतका बिच कडा खत्रा छली माझमा ।।

घोडा चड्दछ जो मनुष्य उहिनै लड्नेछ भैँमा पनि ।
डोकामा दुध राख्न सक्छ कसले जो भाग्य मेरो भनी ।।
आगोको त जलाउने धरम हो तातो दिने गुण हो ।
बन्ने भाग्य बनाउने सबकुरा सत्कर्म सम्पूर्ण हो ।।

आमा
मायाको छ तलाउ वक्ष बिचमा तान्दै पिएँ हर्पल ।
तीनै भूवन अट्छ नेत्र गहिरा झैँ चन्द्रमा झल्मल ।।
खाएमा म अघाउछौ ल धरणी तिम्रो बखान् के गरुँ ।
कस्तो कोमल भावना हरघडी नौनी छ या क्यै अरू ।।

तिम्रो जिर्ण शरीर देख्छु म सधैँ चिन्ताछ मेरै अति ।
पोल्टामा अझ साँचिए त गुलिया राम्रा खजाना जति ।
छोरो दुर्बल खान्छ लान्छु घरमा भन्दै दिने ईश्वर ।
आमा बेगर यो त्रिभूवन भरी पाइन्न अर्को छ र ?

मेरै खातिर भोक प्यास नभनी निंद्रा गुमायौ कति ।
छोरो बन्छ भनेर क्यै प्रतिफलै आशा नराखी रति ।।
काट्यो गाँस म नै भनेर सहसा यो जिन्दगीको मजा ।
सच्चा मातृपना शिवाय अरु क्यै मिल्दैन संसारमा ।।

बर्षैमा त रहेछ एक दिन पो तिम्रो त सेवा पल ।
यी आडम्वरका तिखा वचनले बग्दैछ आँशू भल ।।
सेवामा म बिताउँ नश्वर जुनी भन्दैछ यो भावना ।
आमा! हर्दम प्रात दर्शन गरौँ भन्नेछ यो कामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *