जयदेव गोविन्दका एकजोर कविता

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्दमोह
रोऊँ आँसु झरेन छन्द नभए सुक्खा भए लोचन
खाऊँ गाँस उठेन छन्द नमुछे खल्लो बन्यो भोजन
हो यो भ्रान्ति कि छन्द नामक नशा या व्यर्थ बेकाम हो ?
बौलाहा-पन हो कि अन्धपन हो या रोग हो राम यो ?

हावाले तृण हल्लिए पनि उतै तानिन्छ लोभी मन
धारामा जल खोलिँदा पनि उतै देखिन्छ छन्दाऽनन
या मण्डूक टरर्र कूप जलमा गाऊन् सँगै पौडिई
“जन्म्यो नूतन छन्द” ठान्छ मनले ! दौडिन्छ भाषा लिई ।

 

ताकी ओखल हाम फाल्दछ ढिकी घन्च्याङ्ग आवाजमा
चुच्चो ठोक्तछ घानमा मुसलले सङ्गीतकै तालमा
गोडा पुच्छर भागमा बल गरी उत्साहले नाच्तछन्
बोकी हर्ष-उमङ्ग भन्छ मनले “प्यारो छ यो छन्द झन्” ।

“पाक्यो काफल” भन्छ काफल चरो देखिन्छ “छन्दे कवि”
“को हौ” कोकिल सोध्छ ठान्छ मनले “आए नयाँ भारवि”
“गोपीकृष्ण” मिठास गाउँछ सुगा भर्छन् कला शारिका
लाग्छन् कानन शौनकादि मुनिका पूजार्चना कण्डिका !

माटो”मात्रिक छन्द”लाग्छ सजिलै देखिन्न सङ्ख्या कति
ढुङ्गा वार्णिक छन्द हुन् श्रम गरे फुट्छन् फुटाए-जति
झर्ना हुन् मृदु लोकछन्द सब नै छन् नृत्यमा माहिर
हावा हो कि त मुक्त छन्द नभमा फैलिन्छ चारैतिर !!

“च्याहाँ” शब्द गरेर बालक रुँदा यी कानमा छन्द छन्
कल्ली, ओठ, चुरा र धड्कन बजी ओछयानमा छन्द छन्
नाची छन्द हलल्ल हास्य रसको झङ्कारमै बस्तछ
“ऐया ! घाँक्क र घुँक्क,हाय हरि”को चीत्कारमै पस्तछन् ।

जिब्रो सोध्दछ- “छन्दमा नपढिए हाँस्ला महाभारत ?
“कोरा राम बयान” धान्छ कसरी वाल्मीकिको इज्जत ?
चारै वेद अछन्द वाचन गरे सङ्गीत नाच्ला कहाँ ?
पृथ्वी नै विपरीत फर्किन गए यो सृष्टि बाँच्ला कहाँ ?

गोडा दुख्तछ ठेस लाग्छ पथमा बेढङ्गले दौडिए
माछा जीवन बाँच्न सक्छ कसरी आकाशमा पौडिई ?
सिङ्गो काव्य मिठास दिन्छ कसरी बेढङ्ग लेख्यो भने ?
आँखै धूमिल बन्छ मात्र तमको संसार देख्यो भने !!”

गाला, भ्रू र ललाट, केश, चिउँडो, नानी बने छन्द झैं
सारा रक्तशिरा र यी नयनका पानी बने छन्द झैं
पर्खेला यमराजले बरु “अझै बाँकी छ बेला भनी
ज्याद्रो जेल रहेछ “छन्द लत”को पाषाण यो मोहनी !!
छन्द: शार्दूलविक्रीडित

नेपाली उषा
झुल्को टिपी शृङ्ग मुसुक्क हाँस्तछन्
पन्छी सबेरै गुँडबाट बास्तछन्
दिक्पाल खुल्छन् रसरङ्ग खुल्दछन्
नेपाल फक्री हर पुष्प फुल्दछन् ।।

हुन्छन् खडा वृक्ष गुथेर वल्लरी
शृङ्गार थप्छन् दल-पुष्प-मञ्जरी
दूर्वा-बुटा शीत लिई नुहाउँछन्
बाक्ला तुषारे कपडा लगाउँछन् ।।

श्रीअन्तु गोरो सुत अंशु पाउँछ
हाँसेर चन्द्रागिरि भेट्न आउँछ
मस्किन्छ गोरो सुत अंशु पूर्वमा
फट्कार्छ गोडा पहिले हिमालमा !!

मेची उज्यालो पहिले नियाल्दछे
ऊ शीघ्र पूर्वी तट लिप्न थाल्दछे
ज्योत्स्ना शनै : पश्चिम थाल्छ लम्किन
सेती र काली पनि थाल्दछन् दिन !!

खोल्छन् कुदी मन्दिर-मूर्ति मूषक
पूजा र झाँकी सुरु हुन्छ रौनक
भिज्दै पहेंलो रज बन्छ केशरी
छन् अक्षतातुल्य शिला सरोबरी !!

रारा र फेवा दह वेगनास छन्
चोखा घडा झैं सब एकनास छन्
शैलेन्द्र कर्ता नग भक्त छन् अरू
नैवेद्यका रास खस्ल्दछन् तरु !!

लस्केर हात्ती नहरा लगाउँछ
दौडेर गैंडा थपडी बजाउँछ
फुक्छन् मिठो शङ्ख सुगा डुली गरा
घण्टादि ठोक्छन् मृदु शारिका चरा !!

श्रीखण्ड सेता गिरिले निकाल्दछन्
रुद्री र चण्डी चितुवा समाल्दछन्
अरण्य जर्छन् फलपुष्प अर्पण
कादम्बिनी गर्दछ शुद्ध तर्पण ।।

नैवेद्य बाँड्छन् भरिएर फाँटले
बाँड्छन् मिठा गव्य चुही पहाडले
सूर्याग्नि हुर्की सुरु हुन्छ यौवन
नेपाल ताती उसिनिन्छ भोजन ।।

घुम्छन् सदा उत्तर चन्द्रशेखर
सिद्धार्थ हेर्छन् तल लुम्विनी घर
हेरम्ब, गङ्गा अनि शैलजा यतै
आफ्नै कला-सिर्जनको मजा यतै ।।

आओस् उषाकाल घुमेर सर्वदा
नेपाल नाचोस् मन-कुञ्जमा सदा
गाएर पन्छी नव भोर डाकियोस्
यो देह ढल्के पनि राष्ट्र फैलियोस् ।।

छन्द : उपजातिः (इन्द्रवंशा + वंशस्थ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *