“सम्झना”

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

खेल्ने आँगनमा क्रिकेट चिमुखी गट्टा र डण्डीबियो।
गर्थेँ धेर रमाइलो समुहमा छ्यापेर बर्खे हिलो।।
चोर्दै माम लुकीलुकी घर तिरै खाने गरेका दिन।
प्यारो बन्न सक्यो हुदाँ चकचके गर्ने गरेका दिन।।

गाई वस्तु लिई चराउन सधैँ जाने पखेरो तिर।
चढ्दै रूख असाध्य शीतल हवा खाने उठाई शिर।।
आमा लेख्न र पढ्न सम्म घरमै सक्दो सिकाई दिने।
राखेँ बल्ल म लक्ष्य फूल पथकै आकाश भेटी छुने।।

 

खाँदै म्याल, गुराँस, आँप,अमला, अम्बा, अनार् सुन्तला।
आए दु:ख हरू उठेर सहजै आफ्नै निकाल्थेँ कला।।
रम्थेँ देख्न सके सधैँ गगनमा नाचेर उठ्ने चरी।
आमा नै प्रभु विश्व सृष्टि सृजना मानेर देख्थेँ परी।।

मौरीको धुन सुन्न नित्य पुतली ती फूलबारी पसी।
इन्द्रेणी, ग्रह, सूर्य­, चन्द्र, झरना, तारा­ नियाल्थेँ बसी।।
लाखौँ लाख नदी, हिमाल,वन ती चम्केर देखाउँदै।
आफ्नै सस्कृति, भेष,लोक लयका यो गीत घन्काउँदै।।

यो सिस्नो गहुँ आलु गुन्द्रुक मकै खाएर टार्ने दिन।
बस्ने ठाउँहरू नयाँ महल झैँ छानो लगाई टिन।।
बस्दै काख बुबा दिदी र जननी भन्दै रुँने बालक।
हो हुर्केर कसो गरी जगतमा टेकेँ हिडेँ आज त।।

शार्दुल बिक्रीडित छन्द
शंकर ढकाल
तानसेन– ११,काजिपौवा, पाल्पा

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *