‘कसको कन्था, कसको सिरानी’

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कुनै भन्छ मेरो पुरानो सिरानी
कुनै भन्छ मेरो यही पाउदानी
बडो जोडले चल्छ यो तानतानी
म मागूँ कहाँ के छ कस्को निसानी ।।

म ता जन्मिएको यही जीर्ण कन्था
यही हो शरत्वा कि मेरो वसन्त
म आफ्नै त हो यो भनी ठानिठानी
बिताएँ यसैमा सयौं घामपानी ।।

 

कतैबाट खोकी यहीं आइपुग्छ
यही हो नि मेरो थलो भन्छ बस्छ
जरो भन्छ मेरो यही हो निवास
यसैबाट नै चल्छ मेरो खुराक ।।

दुवै मित्रले मीत लाए अँगाले
सगैं शानका साथ बस्ती बसाले
अहा! शब्दका साथमा कम्प आयो
र तन्द्रा तराना बिछाई सजायो ।।

चढ्यो सास दोला बढी चाल हल्ली
भयो के गरूँ के गरूँ हल्लिखल्ली
बज्यो डम्मरूझैं डिडिंडिं छ छाती
पुगे दृष्टि छोडी धरा हेर्न माथि ।।

अहा क्या मजाको थियो नाचगान
भएको थियो देह यो स्वर्गयान
अकस्मात् भिषक् दुष्ट यौटा उदायो
पिचिक् पिर्र गर्दै सियो पो लगायो ।।

हट्यो त्यो सबै नाचगाना हरायो
सयौं सिर्जनाको तराना हरायो
मुखै स्वाद मीठो थियो त्यो हरायो
सुतेका थिए भोक तिर्खा उठायो ।।

निमेषै थियो स्वर्गको खुल्न ढोका
गरे यी भिषक्‌ले बडो दुष्ट धोका
फिराएर संसारमा ल्याइछाडे
मलाई यही दु:खशय्या पछारे ।।

(यी भिषक् हुन् विश्वनाथ कोइराला)

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *