नेपाल गाथा

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(छन्द दिवसको सन्दर्भमा लेखिएको कविताः)
जे लेखे पनि लाग्छ यो कलमले नेपाल लेख्तैछ झैं
जे देखे पनि लाग्छ यो नजरले सौन्दर्य देख्तैछ झैं
मेरा यी अनुभूतिले हृदयमा जम्मा गरेँ जे जति
जो कैल्यै पनि नाशिँदैन सब हो नेपालको सम्पति

मीठा शब्द र अर्थका चमकमा नेपाल झल्काउँछु
ऐना सुन्दर पार्छु यो हृदयको नेपाल टल्काउँछु
आमाको महिमा बुझेन जसले त्यो मूर्खलाई पनि
केही श्लोक दिऊँ कि लाग्दछ, बुझोस् नेपाल आमा भनी

 

मेरो उत्तर, पूर्व, दक्षिण दिशा साथै यता पश्चिम
आशीर्वाद समानको पवनले माग्दैछ मेरो श्रम
मायाप्रीति, कथाव्यथा जति हुनन् भोगाइका लक्षण
मैले देखिरहेछु केवल यिनै नेपाल आमाकन

नाता छन्, कुलमूल छन् र यिनका सम्पर्क संवाद छन्
वेलामा कति आउजाउ सँगैमा आनन्द आह्लाद छन्
तिर्खा, भोक, थकाइ, नीद, सपना, आराम सुस्वाद छन्
मेरा यी अनमोल वस्तु, यिनमा नेपालका याद छन्

भोगूँ सात्विक भाव, देहभरि यो नाडीनसामा घना
होस् सञ्चारित फैलिँदै मगजमा मीठो बनोस् सम्झना
त्यो संस्कार बनोस्, त्यही मनन होस्, वाणी त्यही पावनी
त्यो ओर्लीकन लेखनीतिर बगोस् नेपाल आमा भनी

गौरा, तीज दशैँ, तिहार, जितिया शार्दूलविक्रीडित
माघी, फागु, छठादि संस्कृति सबै हुन् स्रग्धरा शाश्वत
यो आत्मीयपना वसन्ततिलका यो सभ्यता स्वागता
हाम्री काव्यमयी सुरम्य धरणी छोडेर जाऊँ कता ?

लेखूँ हार्दिक भाव सर्र लिपिमा आमा त्यहीँ छाइने
देखूँ मञ्जुल भावना हृदयमा माटो त्यहीँ पाइने
जे छोए पनि प्रेमको पुलकमा बग्दै गएको छु कि
लाखौँ जन्म यहीँ समर्पित बनूँ —भन्दैछ यो ढुक्ढुकी

नेपाली हुनुमा हिमालय बनेँ, भन्ज्याङ, ब्यासी बनेँ
थुम्का, थूम बनेँ र आखिर उही नेपालवासी बनेँ
यो नैसर्गिक माधुरीसित कुनै अज्ञात नाता थियो
मानौँ त्यो अब सङ्लिई कलममा आई यहाँ पोखियो

निद्रामा पनि स्वप्न आउँछ भने नेपालको आउँछ
ऐले जाग्रत कालमा कलमले क्यै स्वप्न सम्झाउँछ
अग्लो होस् जयगानको धरहरा भूकम्प आए पनि
त्यो धौलागिरि तुल्य सुस्थिर रहोस् झल्काउँदै रोशनी

पृथ्वी एक भए उनैसित अरू पाँडे र थापा भए
कैयौँ वीर सपूतका विजयका आदर्श गाथा भए
सम्झी सुन्दर ऐतिहासिक कथा हामी महान् हौँ भनी
पुर्खाको अवदानमा अलिकता थप्तै रहूँ मै पनि

लुट्तैनन् रिपुले कुनै पनि कुरा हामी फुटेनौँ भने
हाम्रै आँगन खोसिनेछ सजिल्यै हामी जुटेनौँ भने
यौटै अर्थ समेत फेरि भनियो, जान्नू यही अर्थ छन्
आमाको यदि आर्तनाद नबुझे यी शब्द नै व्यर्थ छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *