“म नारी”

Spread the love
Rima, Kc, रिमा केसी, pallawa, पल्लव

रिमा केसी

म प्रकृति हुँ
सिर्जनाको मुहान हूँ
अनि सृष्टिको सुन्दर बिहान
म ममताको गङ्गोत्री हूँ
प्रेमको प्रशान्त महासागर हूँ
मेरै अमृतपान गरेर
जीवनले मुस्कुराउन सिकेको हो
मेरै हात समातेर ताते ताते गर्दै,
सभ्यताले बामे सर्न जानेको हो
मेरै लोरी सुनेर
यो जगतले सङ्गीत सिर्जेको हो ।

जसरी धर्तीले सारा कुल्चाइहरूलाई
चुपचाप सहिरहन्छ
मैले पनि अनगिन्ती ताडनाहरूलाई
निर्वाधरूपमा सहेकी छु
नजाने कति समुद्र आँसु पिए छु,
हो म धर्ती हुँ ।

 


त्यसैले
मैले सहनै पर्दोरहेछ
किन भने

सहनशीलताको अर्को नाम हूँ ।

दर्दका जति चट्याङहरू बज्रेपनि
दमनका भीषण असिनाहरूले चुटेपनि
दुर्भाग्यका सिस्नोले जति पोलेपनि
वेदनाको मार्तोलले जति हानेपनि
म अविरल करुणाधारा बगाउने वर्षा हुँ ।

म प्रेमको त्यो असीम प्रकाश हूँ
जहाँ जगतले घृणाको अन्धकारबाट सुँइकुच्चा ठोक्छ
म धीरताको प्रतिमूर्ति हूँ,
अभावका जतिसुकै ठूला जङ्घार तर्न सक्छु
तर मलाई कमजोर ठान्ने भूल कहिले नगर्नू
म त्यो शक्तिशाली सामुन्द्रिक पानी हूँ
कठोरताको जस्तोसुकै पत्थर गलाउन सक्छु
किनभने मसँग नै त्यो गलाउने ज्वालामूखी छ ।

म त्यो हावाहुण्डरी हूँ
दलनका जस्तोसुकै पाइलाहरूलाई
पत्कर बनाएर उडाउन सक्छ
म त्यही विद्रोहको उग्रचण्डी हूँ,
जस्तोसुकै जञ्जीरहरूका बन्धनलार्इ
चमत्कारले चुडाल्न सक्छु
म आदिशक्ति हूँ
म ज्वालामूखी हुँ
म सिर्जनमूल हूँ
म महान नारी हूँ
म नारी हूँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *