विश्वरूप-महाकाव्यबाट

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(हाम्रो नयाँ घर कैलास कुंजको कल्पनामा)
यौटा थियो सुखद सुन्दर शान्त गाउँ
त्यो गाउँलाई सुरलोक भनी चिनाऊँ
यो वर्तमानकन चारघरी भुलाऊँ
आऊ अतीत युगको घटना सुुनाऊँ ।१।

सौन्दर्यपूर्ण वन नन्दनको किनार
मन्दाकिनी सलल बग्दछ शुक्लधार
त्योबाट त्यो छ परिपोषित वारवार
कल्याणको त्रिविध मारुतको बजार ।२।

 

काँडा र फूल अनुकूल हुने अरण्य
त्यो दिव्य नन्दन परिश्रमको शरण्य
छायासँगै छवि पियार गरी अनन्य
फैलाउँछन् महक मोहक धन्यधन्य ! ।३।

साह्रै विचित्र रचना वनका तरेली
त्यो हेर्न खोल रविले शशिले परेली
सौहार्द आकलित झैं छ हरेक बेली
संसारको रुचिरता छिनमा समेली ।४।

के भन्दछौ—भुवनमा छ फगत निराशा ?
त्यो हो स्वभाव प्रतिविम्बित झै तमासा
चारैदिशा कवि चिताइरहेछ आशा
तिर्खालुु ! जा हृदयमै जल खान खासा ।५।

जा , जा , बरु त्रिदिवको वनकुञ्जभित्र
स्वर्गाङ्ग शीकर बहेर परम्पवित्र
छायापरी छिरिबिरी रचना विचित्र
लोभ्याउने रहरका सब शत्रुमित्र ।६।

कैलास पर्वत उतातिर माथि माथि
सेता पयोददलका दल भाँतिभाँति
चम्कन्छ जून कमनीय उही घटामा
मानौं वनेर गहना शिवको जटामा ।७।

स्वर्गीय सौरभ चुहेर पयोदबाट
यो सृष्टिमा मगमगाहटको छ छाँट
यस्तो सरोरुह—रसाल—गुलावभित्र
त्यो पाइँदैछ अझ मञ्जुल भावभित्र ।८।

आनन्द आउँछ भविष्यमुुखी बनेर
उत्थानका खुटकिला क्रमले खुुनेर
पर्याय नाम सुरनन्दनको किनार
मैले चियाउन चिताउँछु बारबार ।९।

कल्लोल शीकर चलेर सरोजगन्धी
अट्टालिकाउपरकी स्मितहास्यछन्दी
नानाथरी वसन सज्जित दैत्यनानी
आई मनेर हुनझैं कविता बयानी ।१०।

स्वर्गीय त्यो नगरको घरको तलामा
उक्लेर चन्द्रसरि यौवनको कलामा
ऐले बनी मदभरी पुरमार्गबाट
देखाउँथी छविछटा नव छाँटकाट ।११।

वेला बनी मधुर शारदसान्ध्यरङ्ग
गङ्गातरङ्गबिच मानसका विहङ्ग
जोडी बनेर तटका पुरवर्गलाई
लोभ्याउने मदन नन्दबाट आई ! ।१२।

छन् पारिपारि कति नन्दनका निकुञ्ज
छन् वारिवारि पुरका छवि पुञ्जपुञ्ज
गंगा छ बीच कलगुञ्जित वीचिवाला
छाया टिपेर दुइटै तटका निराला ।१३।

सन्तान कल्पतरु वा हरिचन्दनादि
पीयूष पल्लव हिलाइदिएर ज्यादी
यात्रीहरूकन दिने सुखको समाधि
सोपानकै सरि तुरीय विना उपाधि ! ।१४।

Leave a Reply

Your email address will not be published. Required fields are marked *