बुद्ध पूर्णिमाको उपलक्ष्यमा
हे! राष्ट्र देव करुणामय बुद्ध रूप।
नेपाल का जनमुहार कृपा स्वरूप।
अध्यत्मवाद जतिको गर है सुधार।
संबुद्ध बुद्ध भवका रसिलो मुहार।।
श्रीविष्णुको जगतमा नवमावतार।
हे शान्तिका पथ समुन्नत राष्ट्र धार।
यो विश्वले हजुरको कति गर्छ ध्यान।
जन्म्यौ जतातिर हरे रति छैन मान।।
यो विश्व भज्छ कतिले मन भित्र बुद्ध।
तिम्रो विशाल पथमा तन हुन्छ शुद्ध ।
निर्माण बुद्ध धनको महिमादि ध्यान ।
बौद्ध्यात्म बुद्ध लयहुन्छ अजस्र ज्ञान ।।
यो शुद्ध भाव जनका मन भावनामा।
छौ शुद्ध शान्त जनको मन कामनामा।
आदर्श मन्दिर बनोस् जन धारणामा।
आर्यादिले पनि भजुन् मनको कुनामा।।
भन्दै प्रणाम शिरले अब गर्छु आज।
हे! राष्ट्र देव गर है परिपूर्ण काज।
हौ शान्तिदायक भनेर गरेँ प्रणाम ।
नेपाल देश बनियोस् जन जीव धाम।।
वैशाख अन्तिम भयो दिन भो उँभौली।
बुद्धाव्द वर्ष अब हुन्छ दुराग्र फाली।
अध्यात्म बुद्ध गुरुमा शिर यो झुकाई।
मेरो वसन्त तिलका यति आजलाई।।
छन्दः वसन्त तिलका
रचनाकार- विष्णु प्र• उपाध्याय
स्थान- गान्तोक (सिक्किम)
मिति- 10/05/2017
