‘कात्रो’

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

आफ्नो होइन देह यो ! वृषभ झैं कुर्लेर डुल्ने किन ?
जाँदा लान सकिन्न दौलत बिटा ज्यादा बटुल्ने किन ?
चाहे इन्द्र कि चन्द्र हून् ! नगदको कालै छ चल्ती यहाँ
कात्रो मात्र रहेछ शुद्ध कपडा ! राखिन्न खल्ती त्यहाँ !!

बन्छन् मोहित चक्षु आवरणमा, देखावटी ढङ्गमा
लत्याई मकरन्द फूल-नजिकै आसक्त छन् रङ्गमा
चाहे पार्थिव वस्तु होस् ! भडकमै फड्कार्छ खुट्टा यहाँ
कात्रो एक रहेछ शुद्ध कपडा ! चाहिन्न बुट्टा त्यहाँ !!

 

सार्छन् वस्त्र फिरिर्र माथि “पुतली” उड्छन् पखेटा थुती
खोज्दा चीरक देखिँदैन ! तनका सर्वाङ्ग छन् “आहुति”
“सज्जा”कै लतले खुला सडकमै बेचिन्छ लज्जा यहाँ
कात्रो सभ्य रहेछ ! बेसरमको देखिन्न सज्जा त्यहाँ !!

टीका लाउँछ जो सदा मुलुकको माटो लिई हातमा
ऊ नै पुग्छ लखेटिँदै र थिचिंदै “पाखण्ड” औकातमा
मारिन्छन् दल-वर्ग-रङ्ग नमिले आमा र मामा यहाँ
कात्रो साम्य रहेछ ! तुच्छ गुटको देखिन्न धामा त्यहाँ !

बाँचेसम्म सदा विपक्ष गरिमा सिध्याउने खेल छन्
“दर्जा-कोट र मेच”का कलुषले बेमेल बेमेल छन्
कुस्ती खेल्नु, पछार्नु, डङ्क दिनुमै ठानिन्छ मस्ती यहाँ
कात्रो हो प्रतिविम्ब नम्रपनको ! खेलिन्न कुस्ती त्यहाँ !

चारैतर्फ विलासिता, कलुषता, शत्रुत्व छन्, क्षोभ छन्
कामै थाल्नु अगाडि मिष्ठ फलका, सम्मानका लोभ छन्
तिर्खा-मिश्रित रोगले भुवन नै ठानिन्छ बिर्ता यहाँ
कात्रो तुष्ट रहेछ ! भोग, रतिको देखिन्न तिर्खा त्यहाँ !!

तक्मा च्यादर-मोहले मनुजमा नैराश्य मौलाउँछन्
बस्छछन् ढक्कन-भित्र कुर्म तिनले के उच्चता पाउँन् ?
मान्छे लाज खसाल्दछन् “कदर”मा लड्दा दगुर्दा यहाँ
कात्रो थाम्दछ लाज ! जल्नु पहिले छोपिन्छ मुर्दा त्यहाँ !

खादाले बरु पोल्छ सत्य ! परमा लादेर आलोचना
कात्रो चढ्छ चिता स्वयं मृतकको छोपेर नङ्गोपना
कात्रो झैं यदि उच्च मानिस बने उठ्ला वितण्डा कहाँ ?
कात्रो सन्त-महन्त हो ! समरको देखिन्न झण्डा त्यहाँ !

कात्रो भेद नझल्किने जिनिस हो ! कात्रो बफादार हो
कात्रो खेदविहीन बन्नु युगको उम्दा पुरस्कार हो
कात्रो पाप समाप्तिको वसन हो ! उन्मुक्तिको द्वार हो
कात्रामै पनि राजनीति गरिए मासिन्छ संसार यो !!

छन्द: शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.