मांगल्य दोषी हुँदा

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

बारौ मंगल होस् कि वा लगनमा द्वितीय चौथो अनि ।
सातौंमा अनि आठमा कुज भए लाग्नेछ दोषै पनि ।।
बारौ मंगलले दिनेछ सहजै दाम्पत्य बाधा सबै ।
खुट्टामा पनि दोष दिन्छ हलुका आँखा खराबी हुँदै ।।

यात्रामा पनि खर्च हुन्छ अति नै बस्दा त्यहीं बाह्रमा ।
पैसा खर्च हुँदा-हुँदा त ऋणले च्याप्नेछ यो दोषमा ।।
सच्चा बन्धु विचारमा पर हुनन् सानातिना तर्कले ।
पत्नीमा पनि रोग कष्ट हुन गै आत्तिन्छ संघर्षले ।।

 

बस्दा मंगल लग्नमा पनि सखे ! पापी खराबी भइ ।
क्रोधी हुन्छ विचार या त डरपोक् रक्ताल्पताले कठै ।।
चौथो दृष्टि लगाइ मातृघर त्यो छोड्नेछ छोड्नेछ है ।
टाढा हुन्छ समाज जन्म घर त्यो पाखो-पखेरो सबै ।।

छातीमा पनि चोट खोट हुन गै गाडी र भूमि दुवै ।
चौपाया पनि क्लेश दिन्छ सहजै भोग्नेछ दिग्दार भै ।।
भ्राताका सँगमा हुँदा दिनदिनै संवाद संकर्षण ।
मुद्दा सम्म दिनेछ राहुसँग भै योगै छ अंगारक ।।

सातौ मंगलले त विश्व भरमा सातो उडाइदियो ।
आठौंमा पनि बस्छ मंगल भने घोच्नेछ बन्दै सियो ।।
पत्नीमा पतिमा सधैं कलहको बाटो बनाइदिँदा ।
निभ्ला दीप उमंगको असजिलो मांगल्यदोषी हुँदा ।।

क्रमशः मङ्गल दोष परिहार,दोश्रो चरणमा,,
छन्द – शार्दूलविक्रीडित,
ज्यो-तारानाथ भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *