शारदा ओली (शिवाकोटी)का केही मुक्तकहरूः

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

फेसबुकका साथी हौ हामी सम्मान त्यसको गर्नु पर्छ कि
हरेक सम्बन्धमा खोटदेख्नु ठिक हैन सोचौ मर्नु पर्छ कि
मिठो बोलीबचन नै हो ब्यक्त्त्वको चिनारी दिने पनि
यदि ब्यवहार सभ्य नगर्नेभए अलिपर पो सर्नु पर्छ कि ।।

के मा घमण्ड गरेको,रंग रूप कि जवानीमा ?
किन हो नि उदास,पाएनौ धुप कि जवानीमा ?
जिउडाल त उस्तै देख्छु नि,पहिला भन्दा नि राम्रो
एक्लै देख्छु त कि खाइनौ सुत्केरी सुप जवनीमा?

 

एकअर्कालाई दोषलाउँदै हाम्रो जीवन बित्ने पो भो कि
म हार्दा खुशी तिमीभयौ अब पराईले जित्ने पो भो कि
‘हम तुम और वह’भै सकेपछि अब हाम्रो हाल के होला
सम्बन्ध हाम्रो दम्पत्तिको अब त तेसै मिट्ने पो भो कि ।।

विश्वास गर्ने हो कि,कुरा हो दिलाउने तिमी आफै बुझ
सत्यकुरा गर्ने हो कि,कुरा हो मिलाउने तिमी आफै बुझ
ढाँट,छल,लुक्ने लुकाउने सबै माया च्यात्ने काँडा हुन
मायाच्यात्ने कुरा हो कि कुरा हो सिलाउने तिमी आफै बुझ ।।

हिजो पशुपति घुम्न जॉदा तिम्रो मुहारमा आँखा टक्क अडियो
हेर्दै जाँदा तिमीलाई तिम्रो चम्किलो हारमा आँखा टक्क अडियो
अति आकर्षक र सौम्य ब्यक्तित्व रहेछ तिम्रो भनी सोच्दै थिएँ म
झस्कियो मन जब मास्कउध्रेको निधारमा आँखा टक्क अडियो ।।

लालीअधरमा जवानीको नजर लगाएको याद छ
त्यो नजरको भेलले मेरो जवानी बगाएको याद छ
आजपनि यो तन सिरिंग हुन्छ सम्झेर त्यो क्षण
एकान्तमा मेरो अधरमा अधर जमाएको याद छ ।।

बलिष्ठ शरीर मायालु आँखामा म मुग्ध भएँ तिम्रो
सिंह झै दृष्टि,जोश र भाखामा म मुग्ध भएँ तिम्रो
यो तनमन अर्पण समर्पणमा लालायित भैसक्यो
बॉध आलिंगनमा राख काखामा म मुग्ध भएँ तिम्रो ।।

भिडमा तिम्रो नजर पहिलो पटक परेको याद छ मलाई
तिम्रो नजरले चारैतिर मेरो खोजि गरेको याद छ मलाई
खोज्दैआई छेउमा तिमी बस्दा आनन्द माने मैले पनि
तिमीनजिक जान तिमीतिर सुस्तरी सरेको याद छ मलाई ।।

शारदा ओली शिवाकोटी
हेटौडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *